सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलडाँडीमा पाँच वडा जोड्ने चक्रपथ निर्माणको योजना अलपत्र

२०८० पुष १६, ०३:०० खबर संवाददाता

कञ्चनपुरः पूर्वमा झरना खोला र पश्चिममा चौधर नदीले कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको खेतीयोग्य जमिन वर्षेनि बगरमा परिणत हुने क्रम बढेको छ।

साढे दुई दशकअघि निर्माण गरिएको नहर चुहिएर झण्डै १५ सय बिघा खेतीयोग्य जमिन सिमसार र दलदलमा परिणत भएको स्थानीयले गुनासो गरेका छन्। जग्गा कमाइरहेका धेरैसँग त्यसको स्वामित्व छैन। एमालेबाट बेलडाँडी गाउँपालिकाको प्रमुखका लागि चुनाव लडेर पराजित भएका अक्कल बिष्टले गाउँपालिकाले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै आएका छन्।

तर पछिल्लो समय बेलडाँडीमै सर्पदंशको उपचार, रेबिजविरुद्धको खोप र शव परीक्षण गर्ने काम भने हुँदै आएको छ। साथै १५ शैय्याको अस्पताल निर्माणाधीन अवस्थामा छ। सामुदायिक विद्यालयमा कक्षा १० सम्म निःशुल्क पठनपाठन गर्ने सरकारको नीति बेलडाँडीले यस वर्षदेखि कडाइका साथ लागु गरेको छ। ७२ बिघा ग्रिन बेल्ट भनिने क्षेत्रमा विगतदेखि नै भएको अतिक्रमण हटाउन गाउँपालिका केन्द्रित देखिएको छ। 

विद्युत् सबस्टेसन र कोल्ड स्टोर स्थापनाका लागि तयारी थालिएको छ। गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले संघ र प्रदेशबाट पाउनुपर्ने अधिकांश योजना समयमा नपाउँदा पालिका पछाडि परेको गुनासो गरेका छन्। आरक्षको पीडा, किसानले समयमा मलखाद नपाउनु, सबै क्षेत्रमा सिँचाइ सुविधा नपुग्नु, डुबान र दलदलजस्ता समस्या भने वर्षौंदेखि उस्तै छन्। लागुऔषध दुर्व्यसन र चोरी डकैतीका घटना बढ्दै गएको स्थानीयको गुनासो छ।

नदीमा पुल बनाउने र तटबन्ध निर्माण गर्ने योजना अलपत्र छ। बेलडाँडीका पाँचवटै वडा जोड्ने योजनासहित चक्रपथ निर्माण गर्ने भनिए पनि कागजमै सीमित छ। व्यवस्थित बसपार्क छैन भने मैदान नहुँदा खेलाडीले आफ्ना गतिविधि गर्न पाएका छैनन्। तर वडा नम्बर २ स्थित पूर्वमा चवन्नी बेल्डाँडी सडक, पश्चिममा लटिनाथ–मालिकार्जुन मन्दिर, उत्तरमा बसपार्क र दक्षिणमा रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस भित्रको चार किल्ला भित्रको सार्वजनिक जमिनमा १५ शैयाको अस्पताल निर्माणाधीन अवस्थामा छ।
 

कमेन्ट लोड गर्नुस