सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका चार पालिका मात्र सुगमभित्र समावेश, कुनकुन हुन् अति दुर्गम?

२०८० पुष १६, ०९:४९ नारायण अवस्थी

धनगढीः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिमका ८८ पालिकाको वर्गीकरण गरेको छ। नयाँ वर्गीकरणअनुसार सुदूरपश्चिमका चार पालिका मात्रै सुगम क्षेत्रमा परेका छन्। नयाँ वर्गीकरणमा मध्यम पालिकाको संख्या १३ छ भने दुर्गममा १३ र अति दुर्गमा ४६ पालिका परेका छन्।

सुदूरपश्चिमका ८८ पालिकामा सुगम क्षेत्रमा चारवटा नगरपालिका परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र टीकापुर नगरपालिकाको वर्गीकरण ‘घ’ अर्थात् सुगम भनेर गरिएको छ। चौथो सुगम पालिकाको वर्गीकरणमा कञ्चनपुरको  भीमदत्त नगरपालिकालाई राखिएको छ।
यी हुन् मध्यम २५ पालिका
सुदूरपश्चिमका मध्यम ‘ग’ वर्गीकरणमा परेका २५ पालिकामा १० कैलाली र ७ वटा कञ्चनपुरका हुन्। कैलालीमा कैलारी गाउँपालिका, गौरीगङ्गा नगरपालिका, घोडाघोडी, भजनी र लम्कीचुहा नगरपालिका तथा चुरे गाउँपालिका, मोहन्याल, जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिका ‘ग’ वर्गमा परेका छन्। कञ्चनपुरमा कृष्णपुर नगरपालिका, पुनर्वास, बेलडाँडी, लालझाडी, वेदकोट, शुक्लाफाँटा र बेलौरी नगरपालिका ‘ग’ वर्गमा परेका छन्।

यसैगरी, डोटीको दिपायल सिलगढी नगरपालिका, डडेल्धुराको अमरगढी र परशुराम नगरपालिका, बैतडीको दशरथचन्द नगरपालिका, बझाङको जयपृथ्वी नगरपालिका, दार्चुलाको महाकाली नगरपालिका, अछामको मङ्गलसेन र साँफेबगर नगरपालिका पनि मध्यम अर्थात् ‘ग’ समूहमा परेका छन्।
यी हुन् १३ दुर्गम पालिका
दुर्गम अर्थात् वर्गीकरणमा ‘ख’ मा परेका पालिकाको संख्या १३ छ। डोटीको जोरायल गाउँपालिका, डडेल्धुराको अजयमेरु गाउँपालिका, आलिताल, नवदुर्गा र भागेश्वर गाउँपालिको वर्गीकरण दुर्गम पालिकामा गरिएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका, बाजुराको बडीमालिका नगरपालिका र बैतडीमा पुर्चौडीं नगरपालिका, पाटन, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिका ‘ख’ वर्ग अर्थात् दुर्गम पालिकामा परेका छन्।
यी हुन् अति दुर्गम ४६ पालिका
बैतडीको डिलासैनी गाउँपालिका, बाजुरामा खप्तड छेडेदह गाउँपालिका, गौमुल, हिमाली, स्वामी कार्तिक खापर र जगन्नाथ गाउँपालिका अति दुर्गम पालिका हुन्। यस्तै, बाजुराको त्रिवेणी नगरपालिका, बुढीगङ्गा र बुढीनन्दा नगरपालिका पनि अति दुर्गम स्थानीय तहमा वर्गीकरण गरिएको छ।

बझाङमा जयपृथ्वी नगरपालिका बाहेक सबै ११ वटा स्थानीय तहलाई अति दुर्गममा राखिएको छ भने  दार्चुलाको अपि हिमाल गाउँपालिका, दुहुँ, नौगाड, ब्याँस, मार्मा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकालाई अति दुर्गम क्षेत्रमा राखिएको छ। डोटी जिल्लाका  ७ पालिका अति दुर्गम क्षेत्रमा परेका छन्। 

जिल्लाको आदर्श गाउँपालिका, केआइसिंह, पूर्वीचौकी, बडीकेदार, बोगटान, सायल गाउँपालिका र शिखर नगरपालिकाको वर्गीकरण ‘क’ समूहमा गरिएको छ। यसैगरी, अछामको कमलबजार नगरपालिका, पञ्चदेव विनायक नगरपालिका, चौरपाटी गाउँपालिका, ढकारी, तुर्माखाँद, बान्नीगढ जयगढ, मेल्लेख र रामारोशन गाउँपालिका अति दुर्गम पालिका हुन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस