सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा प्रहरीबाटै अबैध असुली! कोको हुन ८ प्रहरी अधिकारी?

२०८० पुष १५, ०६:३५ नारायण अवस्थी

धनगढीः कैलाली र कञ्चनपुरमा प्रहरीबाटै अबैध असुली हुने गरेको विषय बाहिर आएको छ। कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न प्रहरी युनिटमा खटिएका जुनियर प्रहरी अधिकारीहरू अबैध असुलीमा लागेको गुनासो गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी जिल्लाको सादा पोसाकमा खटिएका प्रहरीले तस्करहरूबाट अबैध असुली गर्न थालेको विषय बाहिरिएको छ। कैलाली र कञ्चनपुरमा कार्यरत विभिन्न ८ जना प्रहरीले तस्करी गर्न प्रोत्साहन गर्दै अबैध असुली गर्न थालेको आरोप छ। कैलाली र कञ्चनपुरमा खटिएका सुदूरपश्चिम प्रहरीको आरआइटी टोली र जिल्ला प्रहरी कार्यालयको सादा पोसाकमा खटिएका प्रहरीले अबैध असुली र तस्करी गर्न प्रोत्साहन गरेको विषय बाहिर आएको छ।

सुदूरपश्चिमको आरआइटी तथा जिल्ला र वडा प्रहरी कार्यालयको सादा पोसाकका प्रहरीले तस्कर तथा अबैध काम गर्नेहरूबाट असुली धन्दा चलाइरहेको आरोप लागेको छ। सादा पोसाकमा खटिएका प्रहरीले तस्करहरूसँग मिलेर रातिको समयमा भारतबाट मालसामान ओसारपसार गर्न लगाउने र तस्करहरूबाट साप्ताहिक र मासिक असुली गर्न थालेको विवरण सार्वजनिक गरिएको छ। 

प्रहरीका हाकिमहरूलाई गुमराहमा राखेर सहायक हवल्दारदेखि वरिष्ठ प्रहरी नायब निरीक्षसम्मका अधिकारीले तस्करीबाट धमाधम असुली गर्न थालेको जिकिर गरिएको छ। तस्करी र अबैध असुलीमा प्रहरीको संलग्नता रहेको विषयमा आन्तरिक छानबिन र कारबाही गरिने  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले बताए।

‘यो कुरा आइसकेपछि त्यसको अनुसन्धान गर्ने, बुझ्ने, यो वास्तविक हो होइन भनेर छानबिन गर्ने पाटो छदैछ’, उनले भने, ‘जो नामहरू उल्लेख भएका छन; तिनीहरूको संलग्नता हो होइन भनेर छानबिन अनुसन्धान हुन्छ।’ वरिष्ठ प्रहरी नायब निरीक्षक डेनी स्वाँर र रमेश खड्का, प्रहरी सहायक निरीक्षकहरू अनिल बिष्ट, मदन उपाध्याय र त्रिनगर ट्राफिक प्रहरीका ट्राफिक प्रहरी सहायक निरीक्षक हिक्मत महतालाई तस्करी र अबैध असुली धन्दा चलाएको आरोप लगाइएको छ।

यस्तै, वरिष्ठ हवल्दार लालबहादुर चन्द, सहायक हवल्दार सुरेन्द्र साहु र भरत सिंहलाई पनि तस्करी गराएर असुली गर्ने आरोप लागेको छ। जिल्ला, इलाका र प्रदेश प्रहरीको अहिलेको नेतृत्वको सरुवा हुन लागेको भन्दै यी आठ जना प्रहरीले तस्करी गर्न वातावरण निर्माण गर्दै तस्करहरूबाट रकम असुली गर्न लागेको भन्दै बेनामे निवेदन नेपाल पत्रकार महासंघ कैलालीमा परेको हो।

यसरी नामै तोकेर तस्करी र अबैध असुलीमा संलग्न रहेको विषय आएपछि छानबिन गरिने प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पालले बताए। वरिष्ठ प्रहरी नायब निरीक्षक डेनी स्वाँरलाई कैलालीका विभिन्न तस्करहरूबाट रकम असुली गर्ने गराउने गरेको आरोप लगाइएको छ भने असई अनिल बिष्ट र मदन उपाध्यायले तस्करबाट मासिक पैसा उठाएको आरोप लगाइएको छ।

यसैगरी सहायक हवल्दार भरत सिंहलाई आरआइटी टोलीमा रहेर रातिको समयमा तस्करहरूलाई तस्करी गर्न सहयोग गरेको आरोप लगाइएको छ। वरिष्ठ हवल्दार लालबहादुर चन्दले आफन्तलाई छोड्ने र अरुको ५ किलोग्राम चिनी समेत समातेर सडकमा फ्याक्ने, रातिको समयमा तस्करलाई लाइन दिने र तस्करहरूलाई भगाउने गरेको आरोप लगाइएको छ। 

वरिष्ठ सई रमेश खड्काले आफ्नो एरियाबात क्यारिङ गर्न लगाउने र उनीहरूबाट मासिक असुली गर्ने तथा देहब्यापार हुने होटेलका मालिकहरूबाट पैसा असुल्ने गरेको आरोप लगाइएको छ। सहायक हवल्दार सुरेन्द्र साहुलाई बजारका व्यापारीहरूसँग रक्सी र पैसा माग्ने तथा होटेल सञ्चालकहरूबाट असुली गर्ने गरेको आरोप लागेको छ।

त्रिनगरमा रहेको ट्राफिक प्रहरी पोष्टका असई हिक्मत महतालाई प्रत्येक ट्याक्टरबाट एक हजारका दरले असुली गर्ने, रिन्यू नगरिएका अटो रिक्साबाट पैसा असुल्ने गरेको आरोप छ। कैलाली र कञ्चनपुर जिल्लामा आरआइटी र सादा पोसाकका प्रहरीले असुली धन्दा चलाएको प्रमाणसहित निवेदन आए छानबिन गरिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रज्वलकुमार महर्जनले बताए। 

उनले प्रहरीले आन्तरिक रुपमा छानबिन गर्ने र प्रमाणसमेत प्रहरीलाई उपलब्ध भए छानबिन गर्न सहज हुने बताए। तस्करी र अबैध असुलीमा संलग्न प्रहरीहरूले कैलालीको टीकापुर, जोशीपुर, भजनी, रामपुर, हसुलिया, फूलबारी, जुगेडा, शान्तिनगर, त्रिनगर तथा कञ्चनपुरको डोकेबजार, खड्डा कङ्कड, त्रिभुवनबस्ती, आइबिआरडी, फट्टा, टेडुवा, बेलौरी, पचुई, भुडा, बेलडाँडी र झिलमिलासहितका ठाउँबाट तस्करी गराउने गरेको निवेदनमा उल्लेख छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस