सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज जौको सातु र सर्वत खाई अक्षय तृतीया मनाइँदै

। फोटो स्रोत ।
२०७६ वैशाख २४, ०१:०९ खबर संवाददाता

वैशाख शुक्ल तृतीयाका दिन आज दान, होम, जप, तप गरी अक्षय तृतीया पर्व मनाइँदैछ। आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो। मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ। यसै दिन त्रेता युगको सुरुवात भएको मानिन्छ। यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ। अक्षय तृतीयाकै दिन भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो।

यसैले आजको दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ। जौको सातुमा गुड, चिनी, घिउ, दही मिसाएर एवं सक्खर हाली सर्वत बनाएर ब्राह्मणलाई दान गरे कहिल्यै नाश नहुने अक्षय फल पाइने विश्वास छ। आजका दिन घरमा आउने सबैलाई जौको सातु र सर्वत खुवाइन्छ। यसो गरेमा भगवान् विष्णु खुशी हुने धार्मिक विश्वास छ।

यस अवसरमा निराहार ब्रत बसी विष्णुलाई अक्षताले पूजा गरेमा राजसूय यज्ञको फल प्राप्त हुने मत्यस्य पुराणमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। भविष्य पुराणमा पनि आजका दिन गरिएको दान अक्षय हुन्छ भनी व्याख्या गरिएको छ। वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले पनि यो पर्वको महत्व बढेको हो।
 

कमेन्ट लोड गर्नुस