सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा आज ‘ठूली रात’ अर्थात्  पुसे १५ मनाइँदै

२०८० पुष १५, ०९:४२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) पुसे १५ पर्व मनाइँदै छ। हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिएको छ।

ठूली रातका रूपमासमेत मनाइने पुसे १५ का अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ। यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ। 

सुदूरपश्चिममा पुस १५ को रातलाई ‘ठूली रात’को रुपमा मनाइन्छ। यो दिन गाउँका सबैजना एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने चलन छ। सुदूरपश्चिम प्रदेशमा आज ‘ठूली रात’ अर्थात्  ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ।  हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ। पुसे प्रन्धमा गाउँका सबैजना एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने चलन छ। यस्तै, तरुल, पिँडालु, सखरखण्ड र खानाका मीठा परिकार खाने चलन छ।

साहित्यकार जगदीश ओझाका अनुसार पुसे प्रन्धमा  गाउँका सबै एकापसमा भेटघाट गर्ने र कहानी (आइना, बातै) सुन्ने तथा सुनाउने गरिन्छ। कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्छ। अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको उनले बताए।

‘यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोकसाहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ,’ ओझाले भने, ‘यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने चलन छ।’
सुदूरपश्चिमका अछाम, बझाङ,  बाजुरालगायत जिल्लामा यस पर्वलाई भुवापर्वका रूपमा समेत मनाउने गरेको ओझा बताउँछन्। डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र रहेको बताइन्छ।

गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर पौष्टिक आहार खाने चलन समेत छ। तत्कालीन सभ्यताअनुसार लुगा नभएको हुँदा आगो तापेर पनि चिसो छल्न सक्छौँ भन्नेसमेत सन्देश यो पर्वले दिएको छ। विशेषगरी यो रात लोकसाहित्य प्रस्तुत गर्ने गरिन्छ। सुदूरपश्चिमको लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने गरेको साहित्यकारहरु बताउँछन्।

पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने मान्यता छ। पुस पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको छ। यो रात बूढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ। सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा यसलाई लिइन्छ। पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ।

कमेन्ट लोड गर्नुस