सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ५ करोड ४७ लाखको पुल सात वर्षसम्म अधुरै

२०८० पुष १४, ०२:३० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा पुल निर्माणको काम सात वर्षदेखि अधुरै छ।

पुल निर्माणमा भइरहेको ढिलाइले स्थानीयले खोला तर्दा भोग्नुपर्ने सास्ती कायमै छ। बंक–नाइल–बुडर सडकअन्तर्गत ओदाल खोलामा पुल निर्माणका लागि २०७३ भदौमा थेगिम–गाल्वा जेभीसँग सम्झौता भएको थियो। सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पुलका दुई स्पानमध्ये सात वर्षको अवधिमा एउटा स्पान मात्र बनेको छ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाटले जनप्रतिनिधिका हैसियतले निर्माण कम्पनीलाई काम गर्न पटक–पटक आग्रह गरिएको बताए। कहिलेकाहीँ काम गरेजस्तो देखाएर जनता झुक्याउने काम निर्माण कम्पनीले गरिरहेको उनले बताए। सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पाँच करोड ४७ लाख रूपैयाँ लागत रहेको पुलको लम्बाइ ७० मिटर छ।

डिभिजन कार्यालयका सूचना अधिकारी तारानाथ सिग्देलले पुलका दुईमध्ये एउटा स्पानको काम बाँकी रहेको बताए। सुरुको सम्झौताअनुसार एक वर्षमा काम सक्नुपर्ने भए पनि सात वर्षको अवधिमा करिब ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको उनले बताए। कानुनअनुसार दैनिक हर्जाना तिरेर दुई सय दिनभित्र पनि काम पूरा नगरे ठेक्का तोडेर कारबाहीको प्रक्रियामा जाने सिग्देलले बताए।

कमेन्ट लोड गर्नुस