सुदूर नेपाललाई विश्वसँग जोड्दै

भौतिक पूर्वाधार विकास मन्त्री देउवाद्वारा बाजुरामा सडक पुल शिलान्यास

२०८० पुष १३, ०७:४३ खबर संवाददाता

धनगढीः सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास  मन्त्री प्रकाशबहादुर देउवाले डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लामा प्रदेश सरकारबाट सञ्चालित विकास आयोजनाको अनुगमन र निरीक्षण गर्ने क्रममा आज बाजुराको बुढिगङ्गा– बिराबगर सडक पुल उद्घाटन, त्रिवेणी नगरपालिका वडा नम्बर–४ मा रहेको मालागाड मोटरेबल पुल र बडिमालिका नगरपालिका वडा नम्बर २ भौनेरा नदी मोटरेबल पुलको शिलान्यास गरेका छन्।

मन्त्री देउवालाई त्रिवेणी नगरपालिकाका नगरप्रमुखले नगरपालिकाका  समस्या सहितको ज्ञापन–पत्र बुझाएका छन्। मन्त्री देउवालाई बडिमालिका क्याम्पस बुढीगङ्गामा स्वागत तथा सम्मान गरिएको मन्त्रीको सचिवालयले जनाएको छ।

बाजुरा जिल्लाका योजना अनुगमनको क्रममा बडिमालिका नगरपालिका उपप्रमुखले मन्त्री देउवाको स्वागत गर्दै नगरपालिकाका तर्फबाट प्रदेश सरकारलाई माग पत्र बुझाएका छन्। मन्त्री देउवाको जिल्ला भ्रमण टोलीमा  सुदूरपश्चिम प्रदेश सभाका सदस्य मेघराज खडका, मान बहादुर रावल र बाजुरा जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर, दिपायल सिलगढी नगरपालिकाका प्रमुख  विजयसिंह खड्का सहभागी रहेको मन्त्री देउवाको सचिवालयले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस