सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल विस्तार योजनाः चर्चा कमाउन आलेको त्यो ‘स्टन्ट’

२०८० पुष १३, ०६:३३ नारायण अवस्थी

धनगढीः धनगढी विमानस्थल विस्तारको योजना अलपत्र छ। २०७८ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार गर्न अगाडि सारेको योजना अलपत्र परेको हो।

सरकारले निर्माण गरेका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा समस्या आएपछि धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने प्रक्रिया रोकिएको दाबी छ। दुई वर्ष अघि धनगढी विमानस्थल विस्तारको विषय चर्चामा आए पनि अहिले भने सेलाएको छ। २०७८ पुस ११ गते तत्कालीत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा एउटा बैठक बसेको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको सोही बैठकले धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो। त्यो बेला धनगढीलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्न २५० बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने भनिएको थियो। स्रोत सुनिश्चित नै नगरी त्यो बेला बजेट विनियोजन गरिएको थियो।

एक अर्ब बजेटको हवाला दिएर तत्कालीन मन्त्रीले चर्चा कमाउन खोजेका थिए भने चर्चा अनुसार अहिले विमानस्थल विस्तारको योजनाको अत्तोपत्तो छैन। धनगढी विमानस्थल विस्तारको कुनै काम अगाडि नबढेको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए। ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सञ्चालनमा ल्याउन समस्या भएकाले धनगढी विमानस्थलको काम अगाडि बढ्न सकेको छैन’, उनले भने, ‘धनगढी विमानस्थलको विषय अहिले केही पनि छैन।’

उनले भने, ‘धनगढी विमानस्थल विस्तारको विषय अहिले केही पनि छैन।’ गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा पनि सरकारले धनगढी विमानस्थल विस्तार गर्न बजेट विनियोजन गरेको छैन। धनगढी विमानस्थल निर्माण तथा विमानस्थल विस्तारका लागि अध्ययन अनुसन्धान गर्ने नाममा दुई वर्ष अगाडि भ्रमण गर्नेबाहेक अन्य उपलब्धि भएको छैन। आर्थिक वर्ष २०७७/७८ मा नागरिक उड्डयन प्राधिकरणले बनाएको गुरुयोजना मन्त्रिपरिषद्ले पास गरे पनि गत आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको थिएन।

तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको बाहेक अन्य थप काम अगाडि बढेको छैन। दुई वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयको जग्गा अधिग्रहण गर्न १५ देखि १६ अर्ब लाग्ने अनुमान गरिएको थियो। यसअघि एक अर्ब छुट्याएको भनिएको बजेटको पनि स्रोत सुनिश्चित नभएपछि जग्गा अधिग्रहणको काम अघि बढ्न सकेको थिएन।

अहिले भने विमानस्थल विस्तारको चर्चा समेत सेलाएको छ।  विमानस्थल विस्तारको काम गर्न जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ तर, हाललाई सबै काम स्थगन गरिएको विमानस्थल प्रमुख सिंहले बताए। २०७८ को अन्तिमतिर रियल पाथ इन्जिनियरिङ नामक कन्सलटेन्सीले विमानस्थल विस्तारका लागि जग्गा नापजाँचको काम गरेको थियो।

४५ मिटर चौडाइको दुई हजार ५५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्यांगर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन र उद्धार, चक्रपथसहितका पूर्वाधार निर्माणको विषय गुरुयोजनामा छ। विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन थप २५८ दशमलव २५ बिघा जमिन आवश्यक पर्छ। तर, अहिले आएर विमानस्थल विस्तारको योजना मात्रै होइन चर्चा समेत सेलाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस