सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बर्दगोरिया गाउँपालिकाले सबै वडाका सडक ग्राभेल गर्दै

२०८० पुष १३, ०४:१९ कमल सावद

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिकाले सबै वडाका सडक ग्राभेल गर्ने भएको छ। गाउँपालिकाका–६ वटै वडाका सबै सडक ग्राभेल (पानी पिच) गर्ने योजना अनुसार गाउँपालिकाले काम सुरु गरेको हो।

गाउँपालिकाका अध्यक्ष कर्ण कुँवरका अनुसार गत आर्थिक वर्षमा बर्दगोरियाबाट अन्य स्थानीय तहहरू जोड्न सडक ग्राभेल गरिएको थियो। चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका सबै सडकहरू ग्राभेल गर्ने काम सुरु गरिएको छ। उनले भने, ‘गत वर्ष स्तरीय पानी पिच गरेका थियौ। यो वर्ष सबै सडकहरूको काम सक्छौ।

२२ किलोमिटर अहिले कालोपत्र सडक हाम्रो गाउँपालिकामा छ। यो वर्ष ग्राभेलको काम सक्छौ। अर्काे वर्षबाट कालोपत्रको काम सुरु हुन्छ।’ बर्दगोरिया गाउँपालिकाले गत आर्थिक वर्षमा १० किलोमिटर सडक ग्राभेल गरेको थियो। गाउँपालिकाबाट अर्काे पालिका तथा मुख्य सडक जोड्ने सडकहरू गत आर्थिक वर्षमा ग्राभेल गरिएको हो। चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका सबै सडक ग्राभेल गर्ने योजनामा गाउँपालिका छ।

गाउँपालिकाले आफ्नै स्रोतसाधनमा सडक ग्राभेलको काम गर्दैछ। बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारू (रञ्जित)ले जोकाइ–सुगरखाल सडक ग्राभेलको काम जारी रहेको बताए। वडा नम्बर ५ को रिङ्रोड, वडा नम्बर ६ मा मात्र १५ किलोमिटर ग्राभेल गरिने उनले बताए। उनले भने, ‘यो वर्षको बजेटमा ग्राभेल गर्दैछौ। प्रदेशको बजेट पनि छ। २०८०/८१ मा प्रदेशले कालोपत्रका लागि बजेट दिएको छ। ठेक्का हुन बाँकी रहेको छ।’

गाउँपालिकाले सडक ग्राभेलका लागि उपकरणहरू समेत खरिद गरेको छ। गत आर्थिक वर्षमा दुईवटा टिप्पर, एक रोलर, एक पानी ट्याङ्की, एक ट्याक्टर खरिद गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा ग्रेडरसमेत खरिद गरेको छ। गाउँपालिकाले आफ्नै उपकरणको सहायताबाट सडक ग्राभेलको काम गर्दैछ। 

चालु आर्थिक वर्षमा वडाका सबै सडक ग्राभेल गर्ने र आगामी आर्थिक वर्षबाट कालोपत्रका लागि काम थालिने गाउँपालिकाका अध्यक्ष कुँवरले बताए। वडा कार्यालयहरूसँगको समन्वयमा नयाँ सडकहरूमा समेत ग्राभेलको काम जारी छ। गाउँपालिकाभित्रका सबै सडक ग्राभेल गर्ने लक्ष्य राखिएको भए पनि यसका लागि विस्तृत अध्ययन भने गरिएको छैन।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस