ललितपुरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु, ५४ जना नियन्त्रणमा
काठमाण्डौँः ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर दैलेखको महाबु गाउँपालिका–६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले बताए। प्रदर्शनमा प्रहरी र आन्दोलनकारी घाइते भएका छन्।
घाइतेहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म ५४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आक्रोशित भीडले केहीबेर अघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए।