सुदूरपश्चिममा महिनादिनमै अख्तियारमा ९० मुद्दा दर्ता
धनगढीः सुदूरपश्चिममा एक महिनामा ९० उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएका छन्। मंसिर महिनामा संघ, प्रदेश र स्थानीय तहसँग सम्वन्धित आयोजनामा भएका अनियमितता विरुद्ध ९० उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनलपुरमा दर्ता भएका छन्।
टेलिफोनबाट १५, इमलेबाट १९ र लिखित रुपमा ४० उजुरी दर्ता भएको कार्यालयले जनाएको छ। कार्यालयमा एक महिनाको अवधिमा स्थानीय तहसँग सम्वन्धि सबैभन्दा बढी उजुरी दर्ता भएको पाइएको हो। उजुरीकर्ताले विभिन्न माध्यमको प्रयोग गरेर अख्तियारमा उजुरी दिनेक्रम बढ्दै गएको छ।
त्यस्तै पौष १२ गतेसम्म हुलाक सेवाबाट ८, इमेलबाट ८ र टेलिफोनबाट ५ गरी थप २६ उजुरी दर्ता भएको कार्यालयको तथ्यांक छ। चालु आर्थिक सुरु भएयता कुल चार सय ९७ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा दर्ता भएको सूचना अधिकारी बसन्तबहादुर शाहीले बताए।
उनका अनुसार साउन महिनामा सबैभन्दा बढी एक सय ७३, भदौ महिनामा ८५, असोज महिनामा ८२, कात्तिक महिनामा ४१ वटा उजुरी दर्ता भएका छन्। दर्ता भएका उजुरीमाथि कारबाही प्रक्रिया अघि बढाएको कार्यालयको दाबी छ।
धेरैजसो उजुरीहरु स्थानीय तहसँग सम्वन्धित भएकाले उजुरीको अवस्थालाई हेरेर सोहिअनुसार कारबाही अघि बढाएको कार्यालयले जनाएको छ। कतिपय उजुरीकर्ता कार्यालयमै आएर निवेदन दर्ता गराउने गरेका छन भने कतिपयले इमेल, टेलिफोन, आयोगको वेबसाइट, भाइबर, हुलाक सेवा लगायत माध्यमबाट विभिन्न स्थानमा हुने गरेका अनियमितता सम्वन्धिका उजुरी कार्यालयमा दर्ता हुने गरेका छन्।