कैलालीको मोहन्यालमा लफडा, विकास निर्माणका योजना ठप्प
धनगढीः कैलालीको मोहन्याल गाउँपालिकाको बजेट र स्थायी कार्यालयको विवाद छ। जिल्लको पहाडी गाउँपालिका मोहन्यालले बजेट सार्वजनिक गर्दादेखि नै विवाद रहेको हो।
गाउँपालिकाका उपाध्यक्ष कमल बहादुर साउँदसहितका जनप्रतिनिधिहरूले बजेटको विरुद्ध गरेका थिए। उनीहरूले मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले मनोमानी गरेको आरोप लगाउदै आएका छन्। उपाध्यक्ष साउँदसहितका २७ जना जनप्रतिनिधिहरूले गाउँपालिकाको कार्यालय खिमडीबाट सर्नुपर्ने मागसमेत गरेका थिए। गाउँपालिकाको कार्यालय सार्ने पक्ष र विपक्षमा मतदानसमेत भएको थियो। सोही समयमा स्थानीय युवाहरूको समूहले कार्यालय सार्ने पक्षका जनप्रतिनिधिहरू माथि आक्रमण गरेका थिए। असार १० गते गाउँपालिकामा भएको लफडा अझै समाधान भएको छैन्।
मोहन्या गाउँपालिका–७ का अध्यक्ष नवराज कठायतले आफूसहितका जनप्रतिनिधिहरूमाथि स्थानीय युवाहरूले आक्रमण गरेका बताए। कठायतका अनुसार स्थानीय १२ जनाको विरुद्धमा इलाका प्रहरी कार्यालय, सुखडमा निवेदन दर्ता गरिएको छ। उनले भने, ‘वडालाई पठाउने बजेटको विषयमा विवाद थियो। पहिलो नम्बरमा गाउँपालिकाको कार्यालय राख्नुपर्ने हाम्रो माग थियो। वडामा बजेट कम पठाइएको थियो। हामीले विरोध गरेपछि ५५ लाखमा सहमति भयो। तर, गाउँपालिकाको कार्यालयको विषयमा मतदान हुँदै थियो। २७ मत गाउँपालिकाको कार्यालय, खिमडीबाट सार्न परेको थियो भने ८ मत सार्न नहुने पक्षमा थियो। अध्यक्ष ज्यूको इसारामा युवाहरूले हामीमाथि आक्रमण गरे।’ सबै भन्दा बढी चोट आफूलाई लागेको उनले बताए।
कैलालीको मोहन्याल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ लाखकोब जेट ल्याउदै थियो। बजेटको पहिलो नम्बरमा कार्यालयको नयाँ भवनको विषय समावेश गर्ने र नगर्ने पक्षमा विवाद भएपछि बजेट पारित भएन। असार १० गतेको बठेकले राति बजेट पारित गर्ने तयारी भएपनि आक्रमण भएपछि अहिलेसम्म लफडा सुल्झिएको छैन। गाउँपालिकाका जनप्रतिनिधि बजेटको विषयलाई लिएर अदालत गएपछि विकास निर्माणका कामसमेत रोकिएका छन्। गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले अदालतका कारण चालु बाहेकको बजेट खर्च नभएको बताए।
जिल्लाको मोहन्याल गाउँपालिकाको ३३ करोड पूर्ण बजेटमा १८ करोड पुँजीगत बजेट छ। अदालतमा मुद्दा परेकाले उक्त बजेट खर्च नभएको हो। गाउँपालिकाका उपाध्यक्ष साउँदले गाउँ सभाका क्रममा आक्रमण भएको बताए। उनले भने, ‘अहिलेसम्म जनप्रतिनिधिहरू मोहन्याल जान सक्नु भएको छैन। कार्यपालिकाको बैठकमा उहाँहरू जान सक्नु भएको छैन। फेरि पनि आक्रमण हुन सक्ने सम्भावनाहरू छन्।’ उनले उच्च अदालत दीपायलमा मुद्दा परेकाले बजेटको विषयमा समस्या रहेको बताए। उनले भने, ‘बजेट कार्यान्वयन हुनुपर्ने हो। तर, अहिलेसम्म कार्यान्वयनमा गएको छैन। अध्यक्ष ज्यूले पारित नभएको बजेट, पारित भएको भन्दै आउनु भएको छ। त्यो झुटा हो। सोही कारणले हामी अदालत गएका हौ।’ गाउँपालिकाको कार्यालय वडा नम्बर १ को भकुल्ले टावर रहेको क्षेत्रमा सार्न प्रस्ताव गरिएको हो। गाउँपालिकाले वडाका लागि विनियोजन गरेको बजेट, गाउँ सभाले पारित गरेको भनिएको बजेट र गाउँपालिकाको कार्यालय विषयमा विवाद रहेको छ। बिहिवार उक्त मुद्दामा उच्च अदालतमा सुनुवाइ हुने अध्यक्ष उपाध्यायले बताए।