सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादी मोर्चाको संयोजकमा माधव नेपाल निरन्तर

२०८० पुष १२, ०६:१७ खबर संवाददाता

काठमाडौँ: समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निरन्तर गर्ने निर्णय गरेको छ। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चाको संयोजकमा नेपाललाई निरन्तरता दिने निर्णय गरेको हो।

‘माधवकुमार नेपाल अहिलेसम्म मोर्चाको संयोजक हुनुहुन्थ्यो। यसअघि तोकिएको कार्यकाल सकिएको थियो,’ बैठकपछि नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भने, ‘अब उहाँलाई नै मोर्चाको संयोजककारुपमा निरन्तर गर्ने निर्णय भएको छ।’


बैठकले हाल मोर्चाको संगठन ४७ जिल्लामा विस्तार भएको र त्यो क्रमलाई ७७ वटै जिल्लामा पु¥याउने निर्णय भएको पाण्डेले बताए। त्यस्तै, यसवर्षको सहिद दिवस सप्ताहलाई विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने मोर्चाको निर्णय छ।

‘वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सरकारलाई जनमुखी बनाउन के के गर्न सकिन्छ ? त्यसबारे सरकारलाई सुझाव दिने कुरा भयो,’ पाण्डेले भने, ‘अर्को कुरा अहिले प्रधानमन्त्रीज्यू र समाजवादी मोर्चाका केही नेताहरूविरुद्ध केही मुद्दाहरू छन्। र ती अदालती प्रक्रियामा रहँदा बेला–बेला चर्चामा आउँछन्। तर त्यसलाई किनारा लगाउन अहिलेसम्म सरकारसँग भएका सम्झौताहरूको कार्यान्वयन गर्नुपर्ने कुराहरू छन्। ती सहमति र सम्झौताहरूलाई कार्यान्वयन गराउने भन्ने निर्णय भएको छ।’

कमेन्ट लोड गर्नुस