सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा दलित समुदायको अधिकारका लागि दबाबमूलक अभियान

२०८० पुष ११, ०९:३३ खबर संवाददाता

कञ्चनपुरः संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ। ‘हामी हाम्रा लागि पटक–पटक लड्यौँ, अरूका लागि अब उठौँ लडौँ’ भन्ने मुल नारासहित कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ।

निर्णायक तहमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि जिल्लाका नौवटै स्थानीय तहमा अभियान सञ्चालन गरिएको दलित अगुवा शिवी लुहारले बताए। ‘अभियानअन्तर्गत नौवटै स्थानीय तहमा समिति गठनको कार्य अगाडि बढाएका छौँ’, उनले भने, ‘पालिकास्तरमा समिति गठनको कार्य पूरा भएपछि जिल्ला समिति र प्रदेशस्तरीय समिति गठन गर्छौ।’

उनका अनुसार पालिकास्तरमा गठन भएका समितिले दलित समुदायको हकअधिकारका लागि जागरण ल्याउन बैठक, छलफल, अन्र्तक्रियासँगै दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने छन्। पालिकामा गठन हुने उपभोक्ता समिति, विकास निर्माणसम्बन्धीका समिति, विषयगत समिति, रोजगारीलगायतमा क्षेत्रमा पूर्ण समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराउनका लागि समितिले पैरवी गर्ने बताइएको छ। अभियानअन्तर्गत गठन हुने समिति विशुद्धरुपमा गैरराजनीतिक सङ्गठनका रूपमा रहने छ। 
 

कमेन्ट लोड गर्नुस