सुदूर नेपाललाई विश्वसँग जोड्दै

असीको दशक तीव्र विकासको दशकः प्रधानमन्त्री

२०८० पुष १०, ०६:१२ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन्।

सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए। ’यस वर्ष सात सय ७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ भने पाँच सय ८७ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ, यसै अवधिमा एक सय ८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको छ, थप एक लाख ६२ हजार सुरक्षित आवास निर्माण गरी लाभग्राहीलाई उपलब्ध गराइएको छ’, उनले भने, ’यो आँकडाले अघिल्ला वर्षहरूभन्दा प्रगति त देखाउला तर म सन्तुष्ट छैन।’

नारायणगढ–बुटवल खण्ड वा मुग्लिन–पोखरा खण्डकै उदाहरण लिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्ती दाहालले भने, ’जनताले बाटो भत्केको व्याख्या गरिरहेका छन्, जबकि बाटो त बनिरहेको छ, समयमा आयोजनाहरू पूरा नहुँदा यस्तो नकारात्मक भाष्यमात्र बनेको छैन, लागत बढेको छ, जनताले ठूलो सास्ती खेप्नुपरेको छ ।’

राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रममा जनप्रतिनिधि र जनताको सहभागिता बढाउनका लागि र कार्यान्वयनमा सहजताका लागि बजेटका सिद्धान्त र थमिकतामा हुने छलफलको परम्परा तोड्न लागिएको जानकारी दिएका हुन्। प्रधानमन्त्री दाहालले पुँजीगत खर्च क्षमता बढाउनका लागि निर्णायक हस्तक्षेप गर्नुपर्ने बताएका छन्।

‘विगत केही वर्षदेखि नै कमजोर रहेको पूँजीगत खर्च गर्ने क्षमतामा निर्णायक हस्तक्षेप गर्न अब ढिला भइसकेको छ। बजेट निर्माणको परम्परागत तरिकाले न प्राथमिकतापूर्ण योजनाहरूमा बजेट विनियोजन हुन सक्यो न खर्चको सही आँकलन नै हुनसक्यो, उनले थपे, ’यसको प्रत्यक्ष असर पुँजीगत खर्चमा परी समग्र आर्थिक क्षेत्र नै प्रभावित भइ नै रह्यो। त्यसैले म नीति योजना र बजेट निर्माणको परिपाटी नै परिवर्तन गर्ने तयारीमा छु।’

कमेन्ट लोड गर्नुस