अछाममा एक किशोरीमाथि यौन दुर्व्यवहार, एक जना प्रहरी नियन्त्रणमा
अछामः अछाममा एक किशोरीमाथि यौन दुर्व्यवहार भएको छ। यौन दुर्व्यवहारको घटनामा कानुनी उपचारको बाटो छेकेपछि दुर्गम तुर्माखाँद गाउँपालिका–५ की १६ वर्षीया ती किशोरीले आत्महत्या प्रयास गरेकी छन्।
यौन दुर्व्यवहारको घटनामा गाउँमै मिलाउन दबाब दिएपछि अन्याय भएको भन्दै ती किशोरीले आत्महत्याको प्रयास गरेकी हुन्। पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित जबरजस्ती करणी गरेको आरोप छ। मदिराले लठ्ठ भएका विकले बजारबाट घर जाने बेलादेखि नै ती किशोरीलाई पच्छ्याइ रहेका थिए।
घरनजिक पुग्ने बेला मदिराले मातेका सर्पले जब उनको शरीरमाथि आक्रमण गर्न थाले तब ती किशोरीकी आमाले सुनिन्। आमा घटनास्थल नपुग्दै भागेका विकले घर पुगेर गल्ती गरे माफ गर्नुस् भन्दै फोन गर्न थाले। उनकी आमाका अनुसार घटनाको पछिल्लो दिन जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिए।
किशोरीले आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएपछि सोमबार प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए। अहिले किशोरीको उपचार भइरहेको र घटनाको विषयमा थप बुझेर आवश्यक प्रक्रिया थालिने उनले बताए।