पाताल भूमेश्वरको ऐतिहासिक महिमाः गुफाभित्र पस्यो विशेषज्ञको टोली
धनगढीः गुफा, तलाउ र मन्दिर रहेको बैतडीको सुर्नया गाउँपालिका–२ बासुलिंगमा रहेको पाताल भूमेश्वर प्रचारप्रसारको अभावमा ओझेलमा छ।
पाताल भूमेश्वर चार सय हेक्टर वन क्षेत्रमा फैलिएको छ। सो क्षेत्रमा अवस्थित नेपालकै गहिरो पाताल भूमेश्वर गुफा समेत ओझेलमा परेको स्थानीय बताउँछन्। पाताल भूमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा छन्। दशरथचन्द राजमार्गको सतबाँझ–पाटन सडकखण्डमा पर्ने उच्च भूभागमा रहेका पाताल भूमेश्वरको प्राकृतिक सुन्दरता, नेपालकै गहिरो गुफा, तलाउ र शिव मन्दिरका लागि प्रसिद्ध मानिन्छ।
बैतडी सदरमुकामबाट १८ किलोमिटर पूर्वमा पर्ने सिउडेबाट २० मिनेट उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पाताल भूमेश्वर पुगिन्छ। पाताल भूमेश्वर गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरु रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो छ। गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
गुफाको मुख्यद्वारबाट भित्र पसेपछि केही ओरालो हिँड्नुपर्छ। त्यसपछि फराकिलो ठाउँमा गुफा–चौराहा आउँछ। यसमध्ये पूर्वतर्फको फराकिलो बाटो हिँडेर चट्टानले बनेका विभिन्न वस्तुको अवलोकन गर्न सकिन्छ। गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरी रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ। पाताल भूमेश्वरको मुख्य आकर्षण सदाबहार जंगलको बिचमा रहेको कहिल्यै नसुक्ने तलाउ र गुफा हो।
बैतडीकै उच्च स्थानमा अवस्थित पाताल भूमेश्वर एक तीर्थस्थल पनि हो। सो क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मिक महिमा देशभर फैलाउन सके पर्यटनको राम्रो गन्तव्यस्थल हुन सक्ने भए पनि प्रचारप्रसार हुन सकेको छैन। पाताल भूमेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास छ।
आराध्यदेव शिव अर्धाङ्गिनी सतीदेवीसँगको बिछोडका बेला विभिन्न ठाउँ घुम्दै पाताल भूमेश्वरमा आइपुगेको जनविश्वास छ। महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पैताला पतन भएको किम्वदन्ती छ। घुम्दै आएका शिव थाकेपछि पाताल भूमेश्वरमा विश्राम लिदाखेरी त्रिशूल गाडेको ठाउँमा गुफा भएका हुन्।
गुफाभित्र पस्यो पाँच जनाको टोली
सर्नुया गाउँपालिका–२ मा रहेको पत्ताल भुवनेश्वर गुफाभित्र गएको पाँच जनाको टोली एक किलोमिटर तल पुगेर फर्किएको छ। आज दिउँसो १ बजेर ११ मिनेटमा गुफा विषेशज्ञ बेलायतका पिटर एलिसन तथा बाङ्लादेशका आरिफ गोइया, पत्ताल भुवनेश्वर धार्मिक बनका अध्यक्ष अरुण बिष्ट, स्थानीय कैलाश चन्द र पत्रकार अमरराज भट्टराईको टोली ६ घण्टापछि साँझ ६ बजे फर्किएको हो।
यसअघि फ्रान्सेली गुफा विषेशज्ञको टोली पुगेको ठाउँभन्दा थप गहिराइमा पुगिएको गुफाका बारेमा जानकार कैलाश चन्दले बताए। चन्दले गुफामा पानीको भेलले बगाएर लगेको पातपतिङ्गर सहितको माटोका कारण थप गहिराइमा जान नसकिएको बताए। कैलाश चन्द करिब २ हजार मिटरको गहिराइमा पुगिसकेका छन्। २०७२ मा जर्मन गुफा बिशेषज्ञहरुको टोली करिब ८ सय मिटर गहिराइमा पुगेर फर्किएको थियो।