सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईई परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी जवान कारागार चलान

। फोटो स्रोत ।
२०७६ वैशाख २३, ०१:१९ खबर संवाददाता

एसईई परीक्षा अगावै प्रश्नपत्र आउट गर्ने दुईजना प्रहरी जवानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ, भने ६ जनालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय व्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई सिरहा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो।

दुवै जनाले इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत रहेका बेलो प्रश्न पत्र आउट गराएका थिए। जिल्ला अदालत, सिरहाले दुई जनालाई १ लाख ५० हजार र चार जनालाई १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न पनिे आदेश दिएको छ। उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका १० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा राजविराज १६ निवासी शिक्षक मनोज यादव, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका १ निवासी १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र ताराकान्त इसरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षाअगावै सार्वजनिक भएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो। यी दुवैले इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट प्रश्न पत्र निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाइ विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो। भाइ व्रह्मदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक मनोजलाई पठाएका थिए। त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो। पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत कीर्ते र परीक्षा मर्यादाविपरीत कार्यसम्बन्धी मुद्दा चलाएको छ।

कमेन्ट लोड गर्नुस