कैलालीको बर्दगोरियामा फागुनसम्म जग्गाको नापजाँच सकिने
धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तुल्सीपुरका पदम सिंह मल्ल ८३ वर्षका भए। उनको जीवनकालमा वि।स २०१३ सालमा जग्गाको नापी भएको थियो। उनलाई २०१३ सालमा गरिएको जग्गाको नाप जाँचको बारेमा धेरै जानकारी छैन। मल्लका परिवारको उक्त क्षेत्रमा पहिला धेरै जमिन थियो। त्यो बेला गोबरको साँध हालेर जमिन ओगट्ने चलन थियो। उनले भने, ‘पहिला मान्छे थिएनन्। थोरै मात्र घर थिए। गोबरको साँध हालेका हुन्थे। अहिले मान्छे धेरै भए। परिवार बढेका छन्। तर, जमिन बढ्दैन।’
मल्ल परिवारको ६ कट्टा जमिन नापी भएको छैन। ८३ वर्षको उमेरमा जग्गाको नापी हुन थालेपछि मल्ल खुसी छन्। उनले भने, ‘२०१३ सालमा नापी भएको हो। पछि माओवादीको पालामा पनि भयो। तर, काम पूरा भएन। अहिले नापी सुरु भएको छ।’ निजि भाेग चलनमा रहेका जग्गासहित गाउँपालिकाले सरकारी तथा सार्वजनिक संस्थाहरुकाे जग्गासमेत नापजाँच गर्दैछ।
बर्दगोरिया गाउँपालिकाका सामुदायिक विद्यालयसमेत प्रति जमिनमा सञ्चालन हुँदै आएका छन्। तुल्सीपुरको लक्ष्मी आधारभूत विद्यालयसमेत प्रति जग्गामा रहेको छ। अहिले गाउँपालिकाका प्राविधिकहरूले विद्यालयको जग्गा नापजाँच गरेका छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र कठरियाले विद्यालयको सात कट्ठा जग्गा नापजाँच गरिएको बताए। उनले भने, ‘विद्यालयको जमिन सार्वजनिक रहेछ। जग्गाधनीहरूले पनि दाबी गर्दै आएका छन्। साढे तीन कट्टा जग्गा उनीहरूलेले प्रयोग गर्दै आएका रहेछन्। साढे तीन कट्ठा जग्गा विवाद देखिएको छ।’
जिल्लाको बर्दगोरिया गाउँपालिकाले गत वर्षको फागुनबाट जग्गाको नापजाँच गर्न थालेको थियो। अहिलेसम्म पाँच वटा वडाको जग्गा नापजाँचको काम पूरा भएको छ। गाउँपालिकादकामा १० हजार नागरिकले जग्गा नापजाँचका लागि निवेदन दिएकामा साढे ६ हजारको काम सकिएको हो। राष्ट्रिय भूमि आयोगमार्फत जग्गाको लालपुर्जा वितरणका लागि गाउँपालिकाका प्राविधिकहरूले आधा भन्दा बढी काम पूरा गरेका हुन्। उनीहरूले आउदो फागुनसम्म सबै वडाको जग्गा नापजाँच सक्ने योजना बनाएका छन्।
बर्दगोरिया गाउँपालिकाका अमिन पदम राज भण्डारीले जग्गा नापजाँचको काम जारी रहेको बताए। ऐलानी–प्रति जग्गा नापजाँचको काम गत वर्षको फागुनबाट सुरु भएको उनले बताए। उनले भने, ‘फागुनको अन्तिमसम्ममा काम पूरा गछौ। सामान्य समस्या आउने गरेका छन्। कागतपत्र, जग्गाको सीमाना, जग्गाका धनीहरूको विषयमा समस्या हुने गरेको छ।’ कसैको भोग चलनमा नरहेका जग्गालाई सार्वजनिक साझेदारी जग्गाको रूपमा नापजाँच गर्ने गरिएको उनले बताए। उनले भने, ‘नापजाँचका क्रममा सरकारी, सार्वजनिक जग्गा, गुठी जग्गा तथा कसैको हक भोगमा नभएका जग्गा। पालिकाको मातहतमा ल्याएका छौ। सार्वजनिक–सरकारी लगतमा चढाएका छौ।’
बर्दगोरिया गाउँपालिकाले फागुनसम्म सबै जग्गाको नापजाँचको काम पूरा गर्ने भएको हो। जग्गा नापजाँचको काम पूरा भएपछि भूमि आयोगले जग्गा धनी पुर्जा वितरण गर्ने छ।