सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तार सुरु

२०७६ वैशाख २२, ०६:३५ खबर संवाददाता

झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु भएको छ। त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य सुरु भएको हो। धनगढी विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गरिनुपर्ने माग उठ्दै गएका बेला धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि पनि निर्माण सुरु भएको धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले जानकारी दिए। नेपाल नागरिक उड्डयन प्राधिकरणले केन्द्रबाटै ठेक्का सम्झौता गरेपछि धावन मार्ग मर्मत, धावनमार्ग फराकीलो बनाउने कार्य र पार्कीङ क्षेत्र विस्तार गर्ने कार्य एक महिना सम्म चल्ने छ। त्यस्को ठेक्का लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँले पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढीमा निर्माण आयोजनाका प्रमुख रत्नवहादुर श्रेष्ठले बताए। 

उनका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। १७ करोड ८८ लाखमा अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २-२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। चालुआर्थिक बर्षमा धवनमार्ग वृद्धि, दमकलको सुविधा थप, एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको काम अगाडी वढिरहेको प्राधिकरणको दावी रहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक बर्षभित्र सेवा सुधारका लागि धनगढी विमानस्थलमा विभिन्न काम गर्दै आएको छ। अहिले रात्रीकालीन र कम भिजिविलीटीमा पनि जहाज उडान र अवतरणका लागि अधिग्रहण गरिएको जग्गाको संरक्षण, तारवार र माटो भरानको काम अन्तिम चरणमा पुगेको छ। 

यस्तै विमानस्थलमा स्तर बृद्धिको कार्य सुरु भएपछि आजदेखि एक महिना सम्म विमानस्थलबाट हुने सबै उडान ठप्प रहने भएका छन्। धनगढी–काठमाडौ–धनगढीमा नेपाल एयरलाईन्सले हप्ताको दुई दिन तथा श्री एयरलाईन्स र बुद्ध एयरलाईन्सले दिनको २ उडान भर्दै आएको थियो। तर अव सवै उडान एक महिना सम्मका लागि बन्द रहने धनगढी विमानस्थलका प्रमुख बुढथापाले जानकारी दिए। एक महिना सम्म उडान ठप्प भएपछि यस क्षेत्रमा चौतर्फी समस्या सृजना हुने भन्दै विमानस्थल बन्द नगर्न पटक–पटछक माग गरिएको थियो। तर विमानस्थल बन्द नगरि मर्मतको काम अगाडी बढाउन सम्भव नभएकाले बन्द गरिएको प्रमुख बुढथापाले बताए। 
 

कमेन्ट लोड गर्नुस