सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका कारागारमा क्षमताभन्दा तेब्बर बढी बन्दी

२०८० मंसिर २८, ०६:४८ नारायण अवस्थी

धनगढी: सुदूरपश्चिमका ९ वटा कारागारको जम्मा ६३२ जना बन्दी राख्ने क्षमता छ। तर, हाल यहाँका कारागारमा १ हजार ७०६ बन्दी छन्। यो सङ्ख्या कारागारहरूको कुल क्षमताको करिब तेब्बर हो।

सुदूरपश्चिममा सबैभन्दा बढी १५० जना कैदी राख्ने क्षमता कैलाली जिल्ला कारागारको हो। तर, बुधवारसम्म कैलाली जिल्ला कारागारमा ६९२ जना बन्दी राखिएको छ। क्षमताभन्दा बढी कैदी हुँदा कैलाली कारागारमा बन्दीहरूलाई खाने, बस्ने, सुत्ने, सरसफाइ साथै सुरक्षा जोखिम रहेको कैलाली जिल्ला कारागार प्रमुख पदमराज तिमिल्सिनाले बताए। 'बुधवार बेलुकाको गन्ती हेर्दा कारागारमा ६९२ जना रहेका छन्। जसमध्ये दुई जना नाबालक, ५६ महिला र बाँकी पुरुष रहेका छन्,' उनले भने, 'कारागारमा अत्यधिक चापका कारण खाने, बस्ने, नुहाउने कुरामा समस्या देखिएको छ। जाडोमा पनि बस्न उचित वासस्थान दिन सकिएको छैन।'

कैलाली कारागार पछि सबैभन्दा बढी बन्दी कञ्चनपुर कारागारमा छन्। कारागारको क्षमता १२५ जना मात्रै भए पनि ४५६ जना कैदी राखिएको छ। डडेल्धुरा कारागारको क्षमता १२५ जनाको भए पनि हाल १५० जनाले जेल जीवन बिताइरहेका छन्। डोटी, बैतडी, बझाङ र बाजुरा जिल्ला कारागारमा २५ जनाका दरले बन्दी राख्ने क्षमता छ। तर, यी जिल्ला कारागारमा करिब पनि तेब्बर सङ्ख्यामा कैदी राखिएको छ।

बैतडी कारागारमा ७७ जना, बझाङ कारागारमा ७० जना, बाजुरामा ६१ जना र अछाम कारागारमा ८४ जना कैदी राखिएको छ। कारागारहरूमा क्षमताभन्दा बढी कैदी राखिदा कैदीहरू बिचमै सुरक्षा जोखिम रहेको छ। कारागारको भौतिक संरचना जीर्ण हुँदा आन्तरिक र बाह्य सुरक्षा चुनौती रहेको छ।

बाजुरा जिल्ला कारागारको भौतिक संरचना हातैले भत्किने किसिमको रहेको कारागार प्रमुख हंशबहादुर बोहराले बताए। उनले २०३७ सालमा माटोको गारोले बनेको कारागार भवन जीर्ण भएकालेे भित्ताको माटो हात लगाउदा खस्ने, टिनको छानो चुहिने र बर्सादमा शौचालय प्रयोगमा समस्या रहेको बताए।

अछाम कारागारमा पर्खालसम्म छैन

२०४४ सालमा निर्माण भएको अछाम कारागारमा पर्खालसम्म निर्माण भएको छैन। ७५ जना बन्दी राख्ने क्षमता रहेको अछाम कारागारमा बाहिरी घेरबार अर्थात् पर्खाल नहुँदा चौकीदार र नाइकेलाई बाहिर आउन दिइन्न। कारागारको भित्ताहरू भूकम्पले चर्किएका छन् भने कारागारको मुख्य प्रवेशद्वारमै सार्वजनिक बाटो छ। मानिसहरूको आवतजावत भइरहने र पर्खाल नहुँदा सुरक्षा जोखिम रहेको कारागार शाखा प्रमुख जीवन शाहीले बताए। उनले पर्खालका लागि संघ र प्रदेश सरकारसँग अनुरोध गरिएको भए पनि बजेट नमिलेको बताएका छन्। अछाम कारागारमा खानेपानीको पनि समस्या रहेको शाहीले बताएका छन्।

तीन कारागारमा महिला बन्दी राख्न ठाउँ छैन

दार्चुला जिल्ला कारागारमा भने क्षमता जत्तिकै कैदी राखिएको छ। ५७ जना बन्दी राख्ने क्षमता भएको दार्चुला कारागारमा ५७ जना नै बन्दी रहेका छन्। बैतडी, बझाङ र बाजुरा कारागारमा महिला राख्न समस्या भएकाले यी तीन जिल्लाका महिला बन्दीहरूलाई डडेल्धुरा जिल्ला कारागार पठाउने गरिएको छ।

'कारागारमा मानव अधिकारको हनन् भइरहेको छ'

सुदूरपश्चिमका कारागारहरूमा क्षमताभन्दा बढी कैदी राख्दा बन्दीहरूको मानव अधिकार हनन भएको राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक हरिप्रसाद ज्ञवालीले बताएका छन्। उनले साँघुरो, जीर्ण, चुहिने छत र भत्किने जोखिम रहेको जीर्ण कारागार भित्र आधारभूत सुरक्षाको समेत चुनौती रहेको अवस्थामा कैदीहरूले बन्दी जीवन बिताउने अवस्था हुनु दु:खद पक्ष भएको बताएका छन्। उनले सुधार गृहको रूपमा रहेका कारागारहरूमा, भौतिक समस्या, खानेपानी, सरसफाइ र सुरक्षा चुनौती रहेको बताएका छन्। "कारागार मुख्यतया दुई/तीन समस्या छन्।  भौतिक पूर्वाधार, खानेपानी र सुरक्षा जस्ता कुराको अभाव छ,' उनले भने, 'क्षमताभन्दा तीन गुणा बढी मान्छे राख्दा बस्नै नसक्ने एकदमै अफ्ठ्यारो अवस्था छ। 

सुदूरपश्चिमका कारागारहरूको निर्माण पञ्चायत कालमा भएको हो। चालिस वर्ष अगाडि तत्कालीन जनसङ्ख्यालाई मध्यनजर गरेर पहाडी जिल्लामा २५ जना र तराईको कैलालीमा १५० र कञ्चनपुरमा १२५ जना राख्न मिल्ने गरी कारागार निर्माण गरिएको थियो। त्यसयता हरेक जिल्लाको जनसंख्या र कैदी बन्दीको सङ्ख्या बढेको भए पनि डडेल्धुरा,दार्चुला र बझाङ बाहेक अन्य जिल्लामा नयाँ कारागार भवन बनेका छैनन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस