धनगढीको मुख्य बजार सडक निर्माणमा ठेकेदारको चरम लापरबाही

धनगढीः धनगढीको मुख्य बजार सडक निर्माणमा निर्माण व्यवसायीको चरम लापरवाही देखिएको छ। दुई वर्षको ठेक्का सम्झौता भएको मुख्य बजारको सडक निर्माणमा ठेकेदारको चरम लापरवाही देखिएको हो।
एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋण लगानीमा सरकारले धनगढीमा मुख्य बजारसहित नगरभित्र १० दशमलव ६०७ किलोमिटर आधुनिक सडक निर्माण गरिरहेको छ। तर तेस्रोपटक थप गरिएको समयावधि सकिए पनि मुख्य बजार सडक निर्माणको काम पूरा हुन सकेको छैन। क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत ७६ करोड ९० लाख ७६ हजार रुपैयाँ लागतमा फुटपाथ, नाली र सडक बत्ती भएको आधुनिक सडक निर्माण भइरहेको छ।
कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको सो सडक निर्माणमा ढिलासुस्ती भइरहेको छ। अहिलेसम्म सडक निर्माणको प्रगति ८४ प्रतिशत पनि पुग्न नसकेको आयोजना कार्यालयका सूचना अधिकारी सौरभ कलौनीले बताए। आयोजना कार्यालयका अनुसार मुख्य बजार क्षेत्रको सडक निर्माणको काम ६० प्रतिशत मात्र भएको छ। १० दशमलव ६०७ किलोमिटर सडक निर्माणका लागि तेस्रोपटक थप गरिएको अवधि गत १४ कात्तिकमा सकिएको छ।
तेस्रोपटक थप गर्दा पनि काम पूरा नभएपछि चौथोपटकका लागि तीन महिना म्याद थप्न केन्द्रमा सिफारिस गरिएको सूचना अधिकारी कलौनीले बताए। अहिलेकै गतिमा काम भए थप गरिएको अवधिमा पनि आयोजनाले पूर्णता नपाउने देखिएको छ। निर्माण कम्पनीले ६ महिना म्याद थपको माग गरे पनि आगामी ३१ जनवरीसम्म मात्र म्याद थप भएको छ।
सडक निर्माणमा भइरहेको ढिलाइले मुख्य बजार क्षेत्रको सडक अस्तव्यस्त हुँदा आवतजावतमा समस्या हुनुका साथै व्यापार व्यवसायसमेत प्रभावित बन्न पुगेको छ। निर्माणाधीन सडकका खाल्टाखुल्टी र धुलोले आवतजावतमै समस्या हुने गरेको स्थानीयको गुनासो छ। मुख्य बजार क्षेत्रमा नाली निर्माणको काम पूरा भएर अहिले भरान गर्ने र बीचमा मिडियन निर्माण गर्ने काम भइरहेको छ।
मुख्य बजारमा विद्युतका पोलको मापदण्डमा प्राविधिक समस्या देखिएकाले पनि सडकको काम केही प्रभावित भएको थियो। ‘विद्युत्का पोलको उचाइ नौ मिटर हुने हाम्रो स्टिमेट थियो, तर विद्युत् प्राधिकरणको मापदण्ड ११ मिटर हुनुपर्ने रहेछ, यसले केही समय ढिला भयो,’ आयोजना प्रमुख रमेश थिङले भने। दुई वर्षभित्र निर्माण गरिसक्ने सर्तसहित कालिका कन्स्ट्रक्सनसँग २०७७ असार २८ गते सम्झौता भएको थियो। दोस्रोपटक थप गरिएको अवधि सकिएपछि मात्र निर्माण कम्पनीले मुख्य बजार क्षेत्रमा सडक निर्माणको काम अगाडि बढाएको थियो।



