सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम महोत्सवमा व्यावसायिक प्रयोजनका स्टल ‘खचाखच’, आयोजक उत्साहित

२०८० मंसिर २५, ०६:५० नारायण अवस्थी

धनगढीः कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको यो वर्षको १७ औँ संस्करणको सुदूरपश्चिम महोत्सव मंसिर २२ गतेबाट धनगढीमा जारी छ।

आगामी पुस २ गतेसम्म चल्ने महोत्सवमा यो वर्ष ३५० वटा व्यावसायिक प्रयोजनका स्टल राखिएका छन्। जसमध्ये २७४ वटा व्यावसायिक पसल रहेका छन् भने बाँकीमा रेष्टुरेन्ट, थारु ग्राम, कृषि प्रदर्शनी, फोटो प्रदर्शनी राखिएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले बताए।

आर्थिक मन्दीका बाबजुत पनि यो वर्ष व्यवसायीले उत्साहको साथ स्टल बुकिङ गरेका छन्। आर्थिक मन्दीका कारण व्यावसायिक आउँदैनन् कि भन्ने लागेको भए पनि करिब ६० जना व्यवासायिलाई स्टल दिन नसकेर फर्काउनु परेको महासचिव बिष्टले बताए। ‘यो वर्ष आर्थिक मन्दीका कारण स्टल बुकिङ हुन्नन् कि भन्ने लागेको थियो तर, सबै स्टल बुकिङ भएका छन्,’ उनले भने, ‘स्टल अभावमा करिब ६० जना व्यावसायिलाई फर्काउनु परेको छ।’

सुदूरपश्चिम महोत्सवमा यो वर्ष थारु ग्रामको व्यवस्था गरिएको छ। थारु ग्राममा थारु समुदायका खानाका परिकार, थारु पहिरन र थारु जातिले परम्परागत रुपमा प्रयोग गर्ने लत्ताकपडा, कृषि औजार, भाडावर्तन प्रदर्शनीमा राखिएको छ। यस्तै, सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनी र कृषि प्रदर्शनी पनि महोत्सवमा राखिएको छ।

थारु ग्रामभित्र छुट्टै सांस्कृतिक प्रस्तुति देखाइने व्यवस्था गरिएको छ भने रमाइलो मेलाका अतिरिक्त यो वर्ष महोत्सवमा सस्तोमा स्तरीय सामान सर्वसाधारणले खरिद गर्न सक्ने महासचिव बिष्टले बताए। ‘यो वर्ष स्टलहरूमा सर्वसाधारणले स्तरीय सामान सुपथ मूल्यमा पाउने छन्। यो वर्ष आर्थिक मन्दीका बिच महोत्सवलाई निरन्तरता दिने प्रयास गरेको भए पनि सबैको साथले महोत्सव सफल हुने विश्वास छ,’ बिष्टले भने।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि महोत्सवको माध्यमबाट यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन र बजारीकरणमा टेवा दिने प्रयास २०६३ सालबाटै सुरू भएको र त्यसको निरन्तरता दिन प्रतिबद्ध रहेको जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस