सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसीसी यू–१९ एशिया कपमा नेपाल अफगानिस्तानसँग पराजित

२०८० मंसिर २४, ०८:१४ खबर संवाददाता

अफगानिस्तानसँग पराजित भएसँगै नेपाल एसीसी यू–१९ एशिया कपबाट बाहिरिएको छ। दुबईमा आइतवार भएको खेलमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोली १८८ रनमै समेटिएको हो। नेपालका लागि अर्जुन कुमालले ९१ रन बनाए। उनले १०८ बलमा १३ चौका प्रहार गरे। त्यस्तै, देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका लागि फरिदून दाउदजाई र नसीर खानले ३÷३, मोहम्मद युनुसले २, वाहिदुल्ला जार्डन र खलिल अहम्दले १÷१ विकेट लिए। यसअघि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो। अफगानका लागि जम्शिद जड्रानले शतक प्रहार गरेका थिए। उनले १५२ बलमा १०६ रन बनाए।

नेपालका लागि हेमन्त धामी, गुल्सन झा र सुवाष भण्डारीले समान २÷२ तथा आकाश चन्द र दिपेश कँडेलले १÷१ विकेट लिएका थिए। यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। दुई खेलमा हार बेहोरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले अर्को खेल मंगलवार भारतसँग खेल्नेछ।
 

कमेन्ट लोड गर्नुस