सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऐश्वर्य क्याम्पसका तीन जना प्राध्यापकलाई  राजिनामा दिन अल्टिमेटम 

२०८० मंसिर २४, ०४:५२ खबर संवाददाता

धनगढी: कैलालीको धनगढी स्थित हसनपुरमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसका तीन जना प्राध्यापकको राजिनामा माग गरिएको छ। आइतवार तीनै जना प्राध्यापकले स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष कमल न्यौपानेलाई भौतिक आक्रमण, गाली- गलौज र धम्की दिएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले राजिनामा मागेको हो।

मंसिर २२ गते क्याम्पसमा पठनपाठन अवरुद्ध गरेर क्याम्पसकै एक जना प्राध्यापकको विहेको भोज खान सम्पूर्ण प्राध्यापकहरू क्याम्पसको बस प्रयोग गरेर गएको भन्दै सामाजिक सञ्जालमा लेखेको भन्दै तीन जना प्राध्यापकले न्यौपानेलाई दुर्व्यवहार गरिएको स्ववियु अध्यक्ष कुबेर खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्य क्याम्पस इकाइ कमिटीले निकालेको विज्ञप्तिमा सहायक क्याम्पस प्रमुख नरेश पन्त, विभागीय प्रमुख खेमराज पन्त र टेक अधिकारीले न्यौपानेलाई भौतिक आक्रमण, गाली-गलौज र धम्की दिएको उल्लेख गरिएको छ।
स्ववियु र अनेरास्ववियु क्याम्पस इकाइ कमिटीले तीनै जना प्राध्यापकले २४ घण्टा भित्र पदबाट राजिनामा दिन अल्टिमेटम दिएका छन्।

कमेन्ट लोड गर्नुस