सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा औषधि पसल नै अबैधानिक, ६ फार्मेसी र क्लिनिक कारबाहीमा

२०८० मंसिर २४, ०३:०० खबर संवाददाता

धनगढीः कैलालीमा खुलेका केहि औषधि पसल नै अबैधानिक भएको अनुगमनका क्रममा फेला परेको छ।

जिल्लाभित्र खुलेका ६ वटा फार्मेसी तथा क्लिनिक कारबाहीमा परेका छन्। औषधि व्यवस्था विभागको टोलीले अनुगमन क्रममा ६ वटा फार्मेसी तथा क्लिनिकलाई कारबाही गरेको हो। मंसिर १७ गतेदेखि शनिबारसम्म कैलालीका विभिन्न स्थानमा रहेका फार्मेसीहरुलाई कारबाही गरेको औषधि व्यवस्था विभागको टोलीले जनाएको छ।

अनुगमनका क्रममा दर्ता बिना सञ्चालन रहेका, अयोग्य व्यक्तिले सञ्चालन गरेको, होमियोप्याथिकमा दर्ता भई एलोपेथिक औषधि विक्री वितरण गर्ने लगायतका ६ वटा फार्मेसीलाई कारबाही गरिएको औषधि व्यवस्था विभाग नेपालगञ्जका दिपेन्द्रकुमार शाहले बताए।
उनका अनुसार कैलालीको बर्दगोरिया–३ खैरेनी तापस लस्करविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको छ भने गौरिगंगा नगरपालिका–१ मञ्श्री आयुर्वेद र श्रीवास्तक मेडिकल तथा अत्तरियामा रहेको श्रीजी सर्जिकल सप्लायर्समा शिलबन्दी गरिएको छ।

त्यस्तै धनगढी उपमहानगरपालिका–७ स्थित भैरव क्लिनिक सिएमएद्धारा सञ्चालित पसल र जेसि होमियो मेडिकल हलले एलोपेथिक औषधि विक्री वितरण गरिएको पाइएपछि सम्पूर्ण औषधि जफत गरि अनुसन्धान अघि बढाएको उनले बताए। थप अन्य अनुगमनमा परेकाहरुलाई औषधि व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिइएको शाहले बताए। 

यसअघि धनगढी बजारका दुई मेडिकल दर्ता नभएको, सिफासिमा नपरेका औषधी बेच्ने गरेको लगायतका कैफियत फेला परेपछि अनुगमन टोलीले ती मेडिकल शिल गरेको थियो। औषधी व्यवस्था विभाग नेपालगञ्जका फारर्मेसी अधिकृत निरीक्षक शाहका अनुसार धनगढी उपमहानगरपालिका–७ मा रहेको जेपी क्लिनिक र सोहि वडाको एसआर पारा क्लिनिकलाई शिल गरिएको थियो। जेपी क्लिनिक दर्ता नै नभएको र एस।आर पारा क्लिनिले दर्ता नगरिएको र सिफारिस नगरिएका औषधी बेच्ने गरेको पाइएपछि दुबै औषधि पसल शिलबन्दी गरिएको थियो।

कमेन्ट लोड गर्नुस