धनगढीमा भ्रष्टाचार विरुद्धको दिवस मनाइयो
धनगढी: धनगढीमा भ्रष्टाचार विरुद्धको दिवस मनाइएको छ। शनिवार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, वडा अध्यक्षहरू, सदस्य, युएनडिपीकी बैजयन्ती गिरी सिंह र उपमहानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सार्वजनिक संस्थाहरूमा सेवा सहजै नपाउने, सर्वसाधारणले बिचौलियाको भर पर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने चर्चा गरिएको थियो। सर्वसाधारणले सार्वजनिक सेवा पाउन विभेद भोग्नुपरेको सरकारी संस्थाप्रतिको अविश्वास यथावत् रहेको र सार्वजनिक काममा नागरिक सहभागिताको कमिले भ्रष्टाचार बढ्ने सम्भावना बढी हुने कार्यक्रममा युएनडिपीको तर्फबाट प्रस्तुति दिँदै युएनडिपीका कन्सलटेन्ट श्यामबहादुर विश्वकर्माले बताए।
बजेट निर्माण गर्दा जनसहभागिता नहुनू, भ्रष्टाचार विरुद्ध अभियान नचल्नुले सर्वसाधारणमा भ्रष्टाचार विरुद्धको जनचेतना जाग्न नसकेको विश्वकर्माले बताए। कार्यक्रममा उपप्रमुख कन्दकलाकुमारी रानाले धनगढीलाई भ्रष्टाचारमुक्त पालिका बनाउन सबैको सहयोग आवश्यक रहेको बताइन्। उपप्रमुख रानाले भ्रष्टाचारको विरुद्ध सबैले लाग्न र सर्वसाधारणमा जनचेतना जगाउन आवश्यक रहेको बताइन्।