सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका चार पालिका विद्युत पहुँचमा

२०८० मंसिर २३, ०२:०० खबर संवाददाता

अछामः अछामको पूर्वी क्षेत्र कमलबजारमा नेपाल विद्युत् प्राधिकरणले ३३÷११ केभी सबस्टेसन शुक्रबारदेखि सञ्चालनमा ल्याएपछि चार स्थानीय तह सहज पहुँचमा पुगेका छन्।

यसअघि सोही क्षमता बराबरको सबस्टेसन साँफेबगरमा मात्रै थियो। जिल्लाका १० स्थानीय तहका सबै ठाउँमा साँफेबगरबाट बिजुली आपूर्ति हुँदै आएकोमा अब पूर्वी क्षेत्रका कमबलजार, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद, ढकारी गाउँपालिका र मंगलसेन नगपालिकाको केही क्षेत्रमा कमलबजारबाट विद्युत् आपूर्ति हुनेछ।

भौगोलिक हिसाबले र सुदूरपश्चिमको पहाडी जिल्लामा यसअघि विद्युत् आपूर्ति सहज हुन नसकेको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय सुदूरपश्चिम प्रमुख जंगबहादुर चन्दले बताए। अछाम जिल्लालाई पूर्ण विद्युतीकरण जिल्ला बनाउने योजनाअनुसार गुणस्तरीय विद्युत् आपूर्तिका लागि कमलबजारमा सबस्टेसन राखेको उनले बताए। चालु आर्थिक वर्षमा संघीय सरकाले अछामलाई पूर्ण विद्युतीकरण जिल्ला बनाउनका लागि १ अर्बभन्दा बढी बजेट विनियोजन गरेको चन्दले बताए।

उनका अनुसार ठेक्का पनि भइसकेको छ भने अब निर्माण कम्पनीसँग सम्झौताको काम मात्रै बाँकी रहेको छ। पञ्चदेवल विनायक नगरपालिकाका ५ वडा , ढकारी गाउँपालिकाका ५ वडा,र तुर्माखाँद गाउँपालिकाका ५ वडा गरी १५ वडा अहिलेसम्म विद्युत्को पहुँचमा पुग्न नसकेकोमा अब सहज हुने उनले बताए।

कमेन्ट लोड गर्नुस