नगरस्तरीय हाजिरजवाफ प्रतियोगितामा सरस्वती मावि मनेहरा प्रथम

धनगढीः आधारभूत तह नगरस्तरीय हाजिरजवाफ प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। धनगढी–१६ घसिटामा रहेको बेहडाबाबा माध्यमिक विद्यालयले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय उर्मी द्वितीय, खप्तडी आधारभूत विद्यालय तृतीय र बेहडाबाबा माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेको छ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ६ हजार, ४ हजार ५ सय, ३ हजार र १ हजार ५ सय पुरस्कार प्रदान गरिएको प्रधानाध्यापक भोजराज शर्माले बताए। हाजिरजवाफ प्रतियोगितामा धनगढीका २७ विद्यालयको सहभागिता रहेको थियो। कक्षा ६–८ का विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए।
बेहडाबाबा माध्यमिक विद्यालयको आयोजना र धनगढी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको सहयोगमा सञ्चालित प्रतियोगिताको अध्यक्षता प्रधानाध्यापक शर्माले गरेका थिए भने प्रमुख अतिथि वडा अध्यक्ष रामलाल चौधरी रहेका थिए। कार्यक्रममा शिक्षा महाशाखा प्रमुख नरेन्द्रबहादुर खाती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण रानाथारू र सहभागी विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूको उपस्थिति रहेको थियो।



