सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश लोक सेवा आयोगले कार्यतालिका अनुसार परीक्षा सञ्चालन गर्ने

२०८० मंसिर २०, १०:०० नारायण अवस्थी

धनगढीः प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले वार्षिक कार्यतालिका अनुसार परिक्षा सञ्चालन गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यतालिकामा वर्षभरिको विज्ञापन प्रकाशन र परीक्षा सञ्चालनको खाका समेटिएको छ। प्रदेश लोक सेवा आयोगले तयार गरेको कार्यतालिकामा सहायकस्तर चौथोदेखि अधिकृत ११ औं तहको विज्ञापन र परीक्षा सञ्चालनको कार्यतालिका तय गरिएको छ।

प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यतालिकामा वर्षभरि लोक सेवा आयोगले सम्पादन गर्ने कामको विवरण समेटिएको छ। प्रदेश लोक सेवा आयोगले बनाएको वार्षिक कार्यतालिकामा विभिन्न सेवाका सहायस्तर चौथो तहको खुला तथा आन्तरिक प्रतियोगिताको सूचना प्रकाशन बैशाख अन्तिम साता हुनेछ।

चौथो तहको साउन/भदौमा परीक्षा हुनेछ भने असोज÷कात्तिकमा लेखित परीक्षाको नतिजा प्रकाशन र कात्तिक/मंसिरमा अन्तर्वार्ता र सिफारिस गरिनेछ। सहायकस्तर चौथो तह अप्राविधिक पदहरूको माग संकल्न फागुनमा प्रतिशत निर्धारण चैतमा र विज्ञापन प्रकाशन चैत अन्तिम साता हुनेछ। यस्तै, प्रथम चरणको परीक्षा असारमा भएर नतिजा भदौ/साउनमा प्रकाशित हुनेछ। दोस्रो चरणको परीक्षा भदौ/असोज, नतिजा कात्तिक÷मंसिरमा र अन्तर्वार्ता र सिफारिस कात्तिक/मंसिरमा हुनेछ।

लोक सेवा आयोगले विभिन्न सेवाका सहायकस्तर पाचौँ तहका प्राविधिक पदहरूको खुला तथा आन्तरिक प्रतियोगिताको माग संकलन माघमा, प्रतिशत निर्धारण फागुनमा र विज्ञापन प्रकाशन फागुन अन्तिम साता हुनेछ। पाचौं तह प्राविधिकको जेठ/असारमा परीक्षा सञ्चालन, असार/साउनमा लिखित परीक्षाको नतिजा प्रकाशन र भदौ/असोजमा अन्तर्वार्ता र सिफारिस गरिनेछ।

यसैगरी, सहायकस्तर पाँचौ तहका अप्राविधिक पदहरूको माग संकलन पुसमा, प्रतिशत निर्धारण माघमा र विज्ञापन प्रकाशन माघ अन्तिम साता हुनेछ। पाँचौतह अप्राविधिक पदहरुको प्रथम पत्रको परीक्षा बैशाखमा भएर नतिजा जेठ÷असार र दोस्रो पत्रको परीक्षा असार/साउनमा भएर नतिजा भदौ/असोजमा प्रकाशन हुनेछ। अन्तर्वार्ता र सिफारिस भने असोज/कात्तिकमा गरिने लोक सेवा आयोगको कार्यतालिकामा उल्लेख छ।

अधिकृतस्तर सातौं तहका अप्राविधिक पदहरूमा माग संकलन मंसिरमा, प्रतिशत निर्धारण पुसमा र विज्ञापन प्रकाशन पुस अन्तिम साता हुनेछ। अधिकृत सातौं तहको प्रथम चरणको परीक्षा  फागुनमा गरेर नतिजा प्रकाशन चैत/बैशाख र दोस्रो चरणको परीक्षा जेठमा गरेर साउन/भदौमा लिखित परीक्षाको नतिजा निकालेर भदौ/असोजमा अन्तर्वार्ता र सिफारिस गर्ने कार्यतालिका छ।

प्रदेश लोक सेवा आयोगले विभिन्न सेवाका अधिकृतस्तर नवौं तहका अप्राविधिक र प्राविधिक पदहरूको माग संकलन कात्तिकमा, प्रतिशत निर्धारण मंसिरमा र विज्ञापन प्रकाशन मंसिर अन्तिम साता हुने कार्यतालिका छ। यस्तै, माघ/फागुनमा परीक्षा संचालन, फागुन/चैतमा लिखित परीक्षाको नतिजा प्रकाशन र चैत/बैशाखमा अन्तर्वार्ता र सिफारिस गर्ने कार्यतालिका प्रदेश लोक सेवा आयोगले बनाएको छ। वार्षिक कार्यतालिकामा विभिन्न सेवाका अधिकृतस्तर एघारौं तहमा भने बढुवाद्वारा पदपूर्ति हुनेछ।

प्रदेश लोक सेवा आयोगले साउन १ गतेबाट चालु आर्थिक वर्षको वार्षिक कार्यतालिका लागु गरेपनि यो वर्ष कार्यतालिका अनुरुप कार्यसम्पादन भए अधिकृत सातौं तहको माग संकलन मंसिरमा भएर पुसमा प्रतिशत निर्धारण र पुस अन्तिम साता विज्ञापन प्रकाशित हुनुपर्ने छ। लोक सेवा आयोगले भने माग संकलन हुना साथ सबै तहको आन्तरिक, बढुवा र खुला तर्फको विज्ञापन प्रकाशन गरिने जनाएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस