सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपिनको उद्धार गर्न मुख्यमन्त्री शाहको इजरायली राजदूतसँग आग्रह

२०८० मंसिर १९, ०७:५१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच भेटवार्ता भएको छ। भेटवार्तामा शाहले कञ्चनपुरका विपिन जोशीको अवस्था अझै पनि अज्ञात रहेकाले तत्काल उद्धार र परिवारलाई राहतका लागि राजदूतसँग आग्रह गरेका छन्।

मुख्यमन्त्री शाहले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई सान्त्वनास्वरूप राहत उपलब्ध गराउन मसेत राजदूतलाई आग्रह गरेका छन्।

मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेका उनको सचिवालयले जनाएको छ। लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमासको आक्रमणबाट ज्यान गएको थियो।

भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले आगामी फागुन २३ र २४ गते प्रदेश लगानी तथा विकास सम्मेलन गर्न गइरहेको राजदूत हनान गोडरलाई जानकारी गराएका छन्। लगानी तथा विकास सम्मेलनलाई इजरायली सरकारको साथ, समर्थन रहने राजदूतले प्रतिबद्धता जनाएका मुख्यमन्त्रीको निजी सचिवालयले बताएको छ।

 

कमेन्ट लोड गर्नुस