सुदूरपश्चिममा जबरजस्ती करणीका घट्ना बढ्दै, ५३ मुद्दा प्रहरीमा दर्ता
धनगढीः सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना नपुग्दै ५३ वटा जबरजस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएका छन्।
प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार साउनदेखि हालसम्म ५३ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका हुन्। सबैभन्दा बढी कैलाली प्रहरीमा जबरजस्ती करणीका उजुरी दर्ता भएका छन्। सो अवधिसम्म कैलालीमा १६ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका छन्। कञ्चनपुरमा ११, बैतडीमा ९, बझाङमा पाँच, बाजुरामा चार, डडेल्धुरामा तीन, दार्चुलामा दुई र अछाममा एक उजुरी दर्ता भएको प्रहरीको तथ्यांक छ।
प्रदेशमा तीन आर्थिक वर्षमा थप सात सय ५४ जबरजस्ती करणीका उजुरी दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म ७०७ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ। आर्थिक वर्ष २०७७/७८ मा २३१, २०७८/७९ मा २३५, २०७९/८० मा १८८ र चालु आर्थिक वर्षको मंसिर दोस्रो सातासम्म थप ५३ वटा जबरजस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएको पाइएको हो।
त्यस्तै साढे चार महिनाको अवधिमा २२ वटा जबरजस्ती करणी उद्योगका उजुरी दर्ता भएका छन्। जबरजस्ती करणी उद्योगका उजुरीसमेत कैलालीमा सबैभन्दा बढी दर्ता भएका छन्। कैलालीमा सो अवधिमा ९ उजुरी प्रहरीमा दर्ता भएका छन्। जबरजस्ती करणी उद्योगका ६ उजुरी कञ्चनपुर प्रहरीमा दर्ता भएका छन्। डडेल्धुरामा तीन र अन्य जिल्लाहरूमा एक/एक उजुरी दर्ता भएको पाइएको छ।
तीन वर्षको अवधिमा २४० उजुरी जबरजस्ती करणी उद्योगमा दर्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रज्वल महर्जनले बताए। आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म गरेर कुल २६२ उजुरी जबरजस्ती करणी उद्योग अन्तर्गत प्रहरीमा दर्ता भएको अभिलेख छ। चालु आर्थिक वर्षको हालसम्म जबरजस्ती करणी उद्योगका २२ उजुरी दर्ता भएको देखिएको छ।