सुदूरपश्चिमको विकास बजेट कार्यान्वयन ८० करोड पनि पुग्न सकेन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रभावकारी रुपमा विकास बजेट कार्यान्वयन गर्न सकेको छैन्।
चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना पुरा हुनै लाग्दा समेत विकास बजेट कार्यान्वयन ८० करोड पनि पुग्न सकेको छैन्। चालु आर्थिक वर्षका लागि पूँजीगत बजेट १७ अर्ब ९४ करोड ३५ लाख ७२ हजार छ। तर कार्यान्वयन भएको ८९ करोड ४५ लाख ६० हजार मात्र देखिएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको थियो। चालु र पुँजीगत गरी कात्तिकसम्म दुई अर्ब ४० करोड ४९ लाख मात्र खर्च गर्न सकेको हो। चालुतर्फको बजेट ११ अर्ब ९४ करोड ३५ लाख रहेकोमा एक अर्ब ५१ करोड तीन लाख ९१ हजार मात्र खर्च भएको छ।
सुदूरपश्चिम सरकारले अघिल्ला दुई आर्थिक वर्षमा पहिलो चौमासिक अवधिमा पनि चालु आर्थिक वर्षकै हाराहारीमा खर्च गरेको थियो। गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा साढे ६ प्रतिशत खर्च गर्न सकेको थियो। सो आर्थिक वर्षको पूँजीगत बजेट २४ अर्ब १४ करोड ४४ लाख ६७ हजार बजेट रहेकामा ९६ करोड तीन लाख ४४ हजार मात्र खर्च गरेको थियो।
उक्त आर्थिक वर्षमा कूल बजेट ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रहेकोमा दुई अर्ब ४४ करोड ३९ लाख ४६ हजार खर्च थियो। अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकको यही अवधिमा पूँजीतर्फ कूल बजेट १७ अर्ब ७२ करोड ७८ लाख रहेकामा ६३ करोड ८० लाख मात्र खर्च गर्न सकेको थियो।
चालु आर्थिक वर्षमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयमा १२ अर्ब १९ करोड ६२ लाख ७७ हजार पूँजीगत बजेट छ। त्यसमध्ये पहिलो चौमासिकमा ७१ करोड २ लाख २६ हजार मात्र खर्च गर्न सकेको हो। कूल खर्चको अधिकांश हिस्सा आर्थिक वर्षको अन्तिम दुई महिनामा आएर मात्रै खर्च गर्ने प्रवृत्ति विगतका वर्षझैं चालु आर्थिक वर्षमा पनि देखिने निश्चित छ।