सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ह्युम्यानिटी फाउन्डेसनले प्रदेशबाट लिएको ५० लाखको हिसाब दिएन

२०८० मंसिर १८, ०५:२१ खबर संवाददाता

धनगढीः कोरोना महामारीको समयमा प्रदेश सरकारबाट लगेको ५० लाख रुपैयाँको हिसाबकिताब धनगढीको ह्युम्यानिटी फाउन्डेसनले बुझाएको छैन।

आर्थिक वर्ष २०७७/७८ मा कोरोना महामारीमा काम गर्न धनगढीका व्यवसायी श्याम तायल अध्यक्ष रहेको ह्युम्यानिटी फाउन्डेसनले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट एक करोड पाउने सम्झौता भएको थियो। कोरोना महामारीमा काम गर्न फाउन्डेसनलाई एक करोड रकम दिने निर्णय भएको थियो।

सामाजिक विकास मन्त्रालयले ह्युम्यानिटी फाउन्डेसनलाई २०७८ असार २१ गते गरेको सम्झौता अनुसार ५० लाख अग्रिम भुक्तानी गरेको थियो। पेस्की रकम ५० लाख उपलब्ध गराउँदा २०७८ चैतसम्म कार्य सम्पन्न गरी पेस्की फर्छ्यौट गर्न फाउन्डेसनलाई समय सीमा तोकिएको थियो।

तर, सामाजिक विकास मन्त्रालयले भने हालसम्म ह्युम्यानिटी फाउन्डेसनले बुझेको ५० लाख रकमबाट कहाँ के काम ग¥यो भन्ने विषयको विवरण उपलब्ध नगराएको बताएको छ। महालेखा परीक्षकको कार्यालयले वार्षिक लेखा परीक्षण गर्दा ह्युम्यानिटी फाउन्डेसनलाई उपलब्ध गराइएको ५० लाख असुल उपर गर्नुपर्ने बेरुजुमा राखेको मन्त्रालयले जनाएको छ।

२०७९ असारमा सामाजिक विकास मन्त्रालयले पेस्की दाखिला गर्न पत्राचार गरेको भए पनि फाउन्डेसनका तर्फबाट कुनै जबाफ प्राप्त नभएको बताइएको छ। अस्पतालहरूमा अक्सिजन प्लान्ट जडान गर्ने लगायतका कामका लागि सरकारबाट एक करोड रकम लिने सम्झौता गरेको गैरसरकारी संस्था ह्युम्यानिटी फाउन्डेसनले आफूले बुझेको ५० लाख रकम खर्च भएको विवरण २ वर्ष ५ महिना भइसक्दा पनि मन्त्रालयलाई बुझाउन आवश्यक ठानेको छैन।

सामाजिक विकास मन्त्रालयबाट पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि फाउन्डेसनले सोमवारसम्म कुनै जबाफ दिएको छैन। यो विषयमा बुझ्न ह्युम्यानिटी फाउन्डेसनका अध्यक्ष श्याम तायलसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन।

कमेन्ट लोड गर्नुस