बैतडीमा बिडिसिए क्रिकेट कप सुरु
बैतडीः बैतडीमा शनिवार (आज) देखि बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरेका हुन्।
दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा अध्यक्ष चन्दले बलिङ र बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ब्याटिङ गर्दै उद्घाटन गरेका हुन्। उद्घाटनपछि पहिलो खेलमा अहिले एनआरवाइसी र पञ्चकोटी भिडिरहेका छन्। पञ्चकोटीले टस जितेर ब्याटिङ गरिरहेको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन हुने बिडिसिए कपको यो २० औं संस्करण हो। प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरि खेलहरू भइरहेका बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए। यो वर्ष बिडिसिए कप वान डे फम्र्याटमा भइरहेको बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगिताको विजेतालाई ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ।