सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायक विराज भट्ट ‘१२ गाउँ’ बनाउँदै

२०८० मंसिर १५, ०५:५९ खबर संवाददाता

काठमाडौंः अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशन हुने नयाँ फिल्मको घोषणा गरेका छन्। उनले केही महिनाअघि नै चलचित्र विकास बोर्डमा ‘१२ गाउँ’ शीर्षकमा फिल्म दर्ता गरेका थिए। बिहीवार बिहान सामाजिक सञ्जालमार्फत उनले यही फिल्मको घोषणा गरे।

फिल्मको टाइटल लोगो सार्वजनिक गर्दै उनले विराट भट्ट प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्म एक्सन–थ्रिलर हुने उल्लेख गरेका छन्। २०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो। नेपाली र भोजपुरी भाषाका फिल्ममा एक्सन शैलीमा देखिंदै आएका विराजले सोही जनरामा यो फिल्म बनाउन लागेका हुन्।

फिल्मबारे विस्तृत बताइएको छैन्, तर शीर्ष भूमिकामा विराज स्वयंले अभिनय गर्नेछन्। सन् २०२४ मा रिलिजको लक्ष्य राखिएको फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन्। भट्टले यो फिल्मलाई आफ्नो करिअरकै महत्वाकांक्षी प्रोजेक्टको रुपमा समेत व्याख्या गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस