सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वडा कार्यालयहरूले खरिद गरेका बल्ब मापदण्ड विपरीत भएको पुष्टि

फोटो : अनुराग पन्त
फोटो : अनुराग पन्त
२०८० मंसिर १४, ०८:४१ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ ले १७ लाखका सडक बत्ती खरिदका लागि बजेट विनियोजन गर्यो। रकम धेरै भएपछि धनगढी उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेको थियो। वडा नम्बर १ मा गोपाञ्जल सप्लायर्सले बत्ती जडानका लागि ठेक्का पायो। सीजी एलइडी १५ वाटका बल्ब स्वीकृत भएका छन भने आरसीटी ५० वाटका सडक बत्ती अस्वीकृत भएका छन्। वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले ५० वाटका सडक बत्ती अस्वीकृत भएको बताए। उनले भने, ‘बल्बहरु ठिक छन भनेको छ। ५० वाटका सडक बत्ती अस्वीकृत गरिएको छ। नगरले टेन्डर गरेको हो। नगरले ठिक छ भनेको बत्ती जडान गरेका हाँै। नगरले नै आपूर्तिकर्तालाई अर्काे बत्ती जडान गर्न भन्छ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा लिडर एलइडी १५ वाटका बल्ब र अल्ट्रा टिच १५ वाटका एलइडी बल्ब तथा ५० वाटका सडक बत्ती जडानका लागि ठेक्का भएको थियो। आपूर्तिकर्ता ओमप्रकाश मोबाइल ग्यालरी एण्ड ईलेक्ट्रोनिकले जडान गरेका ५० वाटका सडक बत्ती मात्र स्वीकृत भएका छन्। १५ वाटका दुबै कम्पनीका सडक बत्ती अस्वीकृत भएका छन्। वडा नम्बर ३ ले खरिद गरेका लिडर र अल्ट्रा दुबैका १५ वाटका बल्क अस्वीकृत भएका छन्। ओम प्रकाश मोबाइल ग्यालरी एण्ड ईलेक्ट्रोनिकले आपूर्ति गरेका बल्ब गुणस्तरहीन पुष्टि भएको हो। वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले कम्पनीहरू तोकिएको बताए। उनले उपमहानगरपालिकाको प्रतिवेदन अध्ययन नगरेको प्रतिकृया दिए।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ ले पाँच लाख १४ हजारमा खरिद गरेका बल्बसमेत अस्वीकृत भएका छन्। लिडर र अल्ट्रा कम्पनीका १५ वाटका बल्ब अस्वीकृत भएका हुन्। तर, वडा नम्बर ४ ले ठेक्का गरेर जडान गरिएका ५० वाटका सडक बत्ती भने स्वीकृत भएका छन्। वडा नम्बर ४ मा पनि ओम प्रकाश मोबाइल ग्यालरी एण्ड ईलेक्ट्रोनिकले बल्ब आपूर्तिको ठेक्का पाएको थियो। वडा नम्बर ४ का अध्यक्ष बुद्धि खड्काले रकम भुक्तानी नभएको बताए। उनले भने, ‘बत्ती लगाएपछि विवाद आएर भुक्तानी रोकिएको हो। हामीले भुक्तानी दिएका छैनौँ। अहिले पनि छलफल जारी छ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा जडान गरिएका १५ वाटका सीजी एलईडी बल्ब भने स्वीकृत भएका छन्। न्यू बाबा बिजुली भण्डारले आपूर्तिको ठेक्का पाएका वडाका बल्बहरु स्वीकृत भएका हुन्। वडा नम्बर ७ मा १५ वाटका ब्राइट एलइडी, वडा नम्बर ८ मा १६ वाटका ब्राइट एलइडी र वडा नम्बर ११ मा पनि ब्राइट एलइडी बल्ब जडान गरेको उग्रतारा ट्रेड लिंकका सबै बल्ब रद्द भएका छन्। वडा नम्बर १० मा १५ वाटका लिडर एलइडी बल्ब आपूर्ति गरेको आर्या ट्रेड्ङि एण्ड सप्लायर्सका बल्बहरु पनि अस्वीकृत भएका छन्।

वडा नम्बर १३ मा जय काफली बिजुली भण्डारले जडान गरेका १५ वाटका बल्ब भने स्वीकृत भएका छन्। वडा नम्बर १४ मा ओम प्रकाश मोबाइल ग्यालरी एण्ड ईलेक्ट्रोनिकले जडान गरेका १५ वाटका लिडर र १५ वाटकै अल्ट्राका बल्ब रद्द भएका छन्। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले मापदण्डमा नरहेका बल्बहरूको भुक्तानी रोक्का गरिएको बताए। उनले भने, ‘भुक्तानी भएको छैन। सबै वडालाई पत्र पठाएका छौँ। केन्द्रले पठाएको रिपोर्ट हामीले दिएका छाँै। स्वीकृत र अस्वीकृतको नाम हामीले दिएका छौँ। फेरि पनि भुक्तानी भएपछि भ्रष्टाचार ठहर हुन्छ। भुक्तानी भएन भने भ्रष्टाचार ठहर हुँदैन। आपूर्तिकर्ताले मापदण्डमा भएका बल्ब आपूर्ति गरेपछि पनि भ्रष्टाचार ठहर हुँदैन।’

धनगढी उपमहानगरपालिका अन्तर्गत वडाको बजेटमा ठेक्का सम्झौता मार्फत जडान गरिएका बल्ब गुणस्तरीय नभएको पुष्टि भएको हो। वडा कार्यालयहरूबाट जडान गरिएका बत्ती गुणस्तरीय नभएको गुनासो आएपछि भुक्तानी रोक्का गरिएको थियो। गुणस्तरहीन बल्ब जडान गर्ने आपूर्तिकर्ताहरूले भुक्तानी नपाउने भएका छन्। उनीहरूले मापदण्डमा भएका बल्ब आपूर्ति गरेपछि मात्र भुक्तानी पाउने छन्।

उपमहानगरभित्रका वडा कार्यालयहरूले खरिद गरेका सडक बत्तीको गुणस्तर कमजोर भएको गुनासो आएपछि उपमहानगरपालिकाले गरेको अध्ययनले मापदण्ड विपरीत रहेको पुष्टि गरेको हो। नवीकरणीय उर्जा परीक्षण केन्द्रमा पठाएका बल्बहरूको नमुनाका आधारमा मापदण्ड छनोट गरेको हो। सडक बत्तीको मापदण्ड नपुगेपछि उपमहानगरपालिकाले भुक्तानी रोक्का खरिदिएको छ।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस