सुदूर नेपाललाई विश्वसँग जोड्दै

विभेदपूर्ण लैंगिक छनोट अन्त्यका लागि कार्ययोजना बनाउदै प्रदेश सरकार

२०८० मंसिर १३, ०९:०६ खबर संवाददाता

धनगढीः छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने संस्कारले लैंगिक भेदभावलाई बढावा दिएको र छोराको छनोट बढी हुने गरेका कारण विभेदपूर्ण लैंगिक छनोट बढीरहेको छ। विद्यमान लैङ्गिक असमानताका कारण छोरीको अवमुल्यन भईरहेको तथा छोरी भन्दा छोराको चाहाना बढी हुनाले गर्भपतन गर्ने अभ्यास वृद्धि भइरहेको सरोकरवाला बताउछन्।

लैङ्गिक छनोट अन्त्यका लागि सुदूरपश्चिम प्रदेश सरकारले कार्ययोजना बनाउन थालेको छ। लिङ्गमा आधारित विभेद अन्त्य गर्ने उद्देश्यका साथ सरकारले कार्ययोजना बनाउन थालेको हो। त्यसको ड्राफ्ट सामाजिक विकास मन्त्रालयले तयार पारिसकेको बताइएको छ। मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले विभेदपूर्ण लैङ्गिक छनोट अन्त्यका लागि अनुमानित लागतसहितको सुदूरपश्चिम प्रदेश सरकारको प्रादेशिक कार्ययोजना ९२०८०–०८४० को ड्राफ्ट आज एक कार्यक्रममा प्रस्तुत गरे।

यसैबीच, सरोकारवालाले लिङ्ग छनोटका आधारमा हुने विभेद अन्त्य हुनु पर्नेमा जोड दिएका छन्। फाया नेपाल र यूएनएफपिएद्वारा आज धनगढीमा आयोजित विभेदपूर्ण लिङ्ग छनोट अन्त्य विषयक् अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन्। लिङ्ग छनोट लैङ्गिक हिंसा रहेको उल्लेख गर्दै उनीहरुले भू्रण पहिचान गरी गर्भपतन गरिनुले लिङ्गको आधारमा जनसङ्ख्यामा असन्तुलन देखा परिरहेको छ। यसले निकट भविष्यमा ठूलो समस्या निम्त्याउन सक्ने भन्दै सहभागीले चिन्ता व्यक्त गरेका छन्।

जन्मसँगै लैङ्गिक विभेद रहेको महिला अधिकारकर्मी गोमा आचार्यले बताइन। उनले महिला हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक रुपमा सशक्त बनाउन जरुरी रहेको जिकिर गरिन्। उनले भनिन्, “पैतृक सम्पत्ति पनि छोराछोरीलाई बराबर दिइनु पर्छ।”छोराको चाहनाले शिक्षित र पैसा भएका व्यक्तिले नै बढीजसो भ्रूण पहिचान गरेर गर्भतन गराउने गरेको सहभागीको भनाइ छ। दागबत्तीका लागि छोरा नै चाहिने समाजको विश्वासका कारण लैङ्गिक रुपमा छोराछोरीबीच विभेद भइरहेको गुनासो छ।

पैतृक सम्पत्ति खोज्दा छोरी मान्छेले सम्बन्ध नै गुमाउनु पर्ने अवस्था रहेको महिला अधिकारकर्मी गीता चौधरीले बताइन्। उनले सरकारी अड्डादेखि लिएर राजनीतिक दलसम्म महिलाको नेतृत्वलाई स्वीकार गर्न नसकी विभेद गर्ने परिपाटी रहेको उल्लेख गरिन्। लैङ्गिक विभेद न्यूनीकरण गर्न विभेद जहाँबाट सिर्जना भएको त्यही नै उपचार गर्न आवश्यक रहेको फाया नेपालका जनसम्पर्क तथा सूचना संयोजक धनपति ढुङ्गेलले बताए। “हामीकहाँ समस्या धर्म र धार्मिक ग्रन्थबाटै भएको छ” उनले भने, भगवानको हवाला दिएर विभेद गर्ने डकुमेन्टविरुद्धमा हामीले आवाज उठाउन सक्नुपर्छ।” कार्यक्रममा सो संस्थाका कार्यक्रम निर्देशक शेरबहादुर बस्नेतले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए।
 

कमेन्ट लोड गर्नुस