सुदूर नेपाललाई विश्वसँग जोड्दै

उग्रतारा मन्दिर पुरानै शैलीमा निर्माण हुन्छ : मन्त्री देउवा

२०८० मंसिर १२, ०६:५६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको उग्रतारा मन्दिर पुरानै शैलीमा निर्माण हुने भएको छ। सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले संघीय सरकारले पुरानै शैलीका उग्रतारा मन्दिर निर्माण गर्न लागेको बताएका हुन्।

उग्रताराको देहिँजातमा पुगेका मन्त्री देउवाले प्रदेश सरकारको पहलमा सङ्घीय सरकार मार्फत क्रमागत योजना अन्तर्गत उग्रतारा मन्दिर पुर्न निर्माण हुने बताएका छन। उग्रतारा मन्दिरको गुरु योजना अनुसार पुनः निर्माण गरिने उनले बताएका हुन्। उग्रतारा मन्दिर दर्शन गर्न पुगेका मन्त्री देउवाले मन्दिरको व्यवस्थापनका लागि पूर्वाधारहरूको विकाससँगै मन्दिरलाई प्यागोडा शैलीमा पुनर्निर्माण गरिने बताए।

सबैको धार्मिक आस्थासँग जोडिएको उग्रतारा मन्दिरको विकासका लागि आफू लागि पर्ने उनको दाबी छ। आफू सानो छदाँ पनि मेला घुम्न आउने गरेको बताउदै मन्त्री देउवाले डडेल्धुराको संस्कृतिसँग जोडिएको उग्रतारा मेलालाई थप व्यवस्थित गरि यहाँको धार्मिक महत्व झल्काउने काम गरि समग्र धार्मिक विकासमा थप टेवा पुग्ने बताएका छन्।

मन्दिरको कङ्क्रिट हटाई पुरानो रूप दिन पुरातत्त्व विभागले एक करोड ६२ लाख रुपियाँ विनियोजन गरेको छ। पुरातत्व विभागलाई बिना जानकारी उग्रतारा मन्दिरमा सिमेन्ट र कङ्क्रिटको प्रयोग गरि पुनर्निर्माण गरे पछि पुरातत्त्व विभागले आफ्नो सम्पदा सूचिबाट हटाएको थियो।

वि.सं. २०४१ सालमा पञ्चायती व्यवस्थाको सरकारले उग्रतारा मन्दिरलाई पुरातत्त्व विभाग सम्पदा सुचीमा र विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो। पछि कङ्क्रिटसहित निर्माण हुँदा विश्व सम्पदा सूचीबाट हटेको थियो। उग्रतारा मन्दिरको तस्बिर अंकित हुलाक टिकट समेत जारी गरेको थियो। पुरातत्त्व विभागकालई कुनै जानकारी नगराई मन्दिरमा कङ्क्रिटको प्रयोग गरि पुनर्निर्माण गरिए पछि वि.सं. २०५४ सालमा विभागले आफ्नो सम्पदा सूचिबाट हटाएको हो।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मङ्गलवार ‘देहिजात’ सम्पन्न समेत भएको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन हुने पूजाआजा सोमवार राति रतेडी र मङ्गलवार देहिजाँत भएको हो। मङ्गलवार बिहान उग्रतारा भगवतीको विधिवत् रूपमा पूजाआजा सम्पन्न भएपछि दिउँसोभर मेला लाग्ने गर्छ। अमरगढी नगरपालिकाका चार वटा गाउँबाट डोलीसहित देउरो, पूजापोखल मन्दिरमा पुगाएर बिहान ४ बजेको समयमा विधिवत् रुपमा पूजाआजा गरिन्छ।

 

कमेन्ट लोड गर्नुस