सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको कैलारी गाउँपालिकामा नदी ओहोरदोहोर गर्न महँगो शुल्क

फोटो : रामलखन चाैधरी
फोटो : रामलखन चाैधरी
२०८० मंसिर १२, १०:१९

धनगढी :कैलालीको कैलारी गाउँपालिकामा नदी ओहोरदोहोर गर्न महँगो शुल्क लाग्ने गरेको छ। गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका नदीमा ओहोरदोहोर गर्ने नागरिकबाट दैनिक महँगो शुल्क लिन ठेक्का सम्झौता नै गरेको हो।

गाउँपालिकाको वडा नम्बर ३ र ७ मा पर्ने मोहना नदीमा काठको पुल तर्न मोहनपुर, शिवरत्नपुर, हौसलपुरलगायत गाउँहरूका नागरिकले शुल्क तिर्दै आएका छन्। नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने मोहना नदीमा गाउँपालिकाले वर्षातमा डुङ्गा र अन्य समयमा काठेपुल राख्न ठेक्का दिने गरेको छ । पालिकाले नदीको तीन वटा घाटको लागि ठेक्का लगाएको हो। घाटको लागि ठेक्का पाएका ठेकेदारहरूले दैनिक रूपमा ओहोरदोहोर गर्नेहरूबाट चर्को शुल्क लिने गरेका हुन्। ठेकेदारहरूले पुलमा हिँडेबापत प्रतिव्यक्तिबाट २० रुपैयाँदेखि ५० रुपैयाँ र मोटरसाइकलसहित पुलमा हिँडेको ८० रुपैयाँसम्म लिने गरेका छन्। पालिकाभित्रका तथा बाहिर नागरिकहरू मोहना नदी पारीका गाउँमा रहेका आफन्त कहाँ जाँदा वा कुनै काम विशेषले जाँदा पैसा तिर्नुपर्ने बाध्यताले हैरान भएका छन्।

जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ कोइलहीका यम चौधरी खोनपुर घाटको पुल भएर शिवरत्नपुर पुगेका थिए। आफ्नै देश, त्यो पनि आफ्नै पालिकामा पैसा तिरेर नदी ओहोरदोहोर गर्नु परेको भन्दै उनले दुःख व्यक्त गरेका छन्। उनले भने, ‘आफ्नै पालिकामा ओहोरदोहोर गर्दा पनि पालिकालाई शुल्क दिनुपर्ने कस्तो विडम्बना ? यहाँ त भारत जानलाई पैसा लाग्दैन, तर पालिकाभित्रै घुमफिर गर्दा पैसा तिर्नुपर्छ।’

देवीगञ्जका सन्तु चौधरीले गाउँपालिकाले पुल निर्माणमा बेवास्ता गर्दै आएको बताए। उनले भने, ‘हामीले पक्की बनाउ भनेका छैनौँ। हिँड्न मिल्ने २०/३० हजार खर्चेर काठको फल्याक राखेर पुल त पालिकाले नै बनाउन सक्छ नि ? यो सरासर पालिकाले बाध्यताको व्यापार गर्दै छ। घुमाउरो ढङ्गको यो असुली धन्दा हो। बन्द गरिनुपर्छ।’

घाटमा ठेकेदारको मनोमानी

गाउँपालिकाले मोहना नदीको तीन वटा घाटमा ठेक्का लगाएको छ। गाउँपालिकाका राजस्व शाखा प्रमुख लाहुराम चौधरीका अनुसार खोनपुर घाटको लागि वार्षिक २ लाख ६५ हजारमा ठेक्का दिएको छ।

त्यस्तै, गोबरैला घाटको लागि ३६ हजारमा ठेक्का दिएको हो। खोनपुर र गोबरैला घाटको ठेक्का वडा नम्बर ३ का तेजराम चौधरीले पाएका छन्। यद्यपि खोनपुरका स्थानीय खोनपुर घाटमा भने, गाउँपालिकाले तोकेको ठेकेदारलाई डुङ्गा तथा पुल लगाउन नदिइ आफै डुङ्गा तथा काठे पुल सञ्चालनमा ल्याएका छन्।

मोहना नदीकै भित्तरिया घाटको लागि ५ लाख २१ हजारमा ठेक्का सम्झौता भएको छ। शुल्कमा ठेक्का पाएकाहरूको मनलाग्दी छ। कुनै पनि घाटमा एक रुपता छैन।

भित्तरिया घाटमा भेटिएका ठेकेदार गणेश महतो भन्छन्, ‘काठको पुल बनाउनमा नै मेरो धेरै लगानी लागेको छ। मेरो लगानी, गाउँपालिकालाई तिर्नुपर्ने ठेक्का रकम जोड्दा १० लाखमाथि छ। त्यो लगानी उठाउनको लागि पनि मैले शुल्क लिनुपर्ने बाध्यता छ।’

ती तीनै घाट भएर नेपालीहरू किनमेल तथा औषधोपचारको लागि भारतको सीमावर्ती बजार चन्दनचौकी, पलिया, सुडासम्म जान्छन्। ती घाट भएर दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्छन्। तर गाउँपालिकाको असुलीधन्दाबाट ओहोर गर्ने स्थानीय समेत आजित छन्।

खोनपुर घाटमा पुलमा हिँडेबापत रकम सङ्कलन कार्यमा खटिएका खोनपुरका स्थानीय ठागुराम चौधरी भन्छन्, ‘गाउँपालिकाले लगानी लगाइदिएको भए राम्रो हुने थियो। तर, गाउँपालिकाको सेवा दिनेभन्दा कसरी हुन्छ पैसा असुलीमा मात्रै ध्यान छ। ठेक्का दिएपछि केही शुल्क त हामीले लिनै पर्छ।’

कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले ठेक्का गइसकेको र ठेक्का लिनेहरूबाट बढी रकम असुली भइरहेको गुनासो आफू कहाँ पनि आएको बताए। ओहोरदोहोर गर्नेलाई सेवा दिन आफूले गाउँपालिकामार्फत आवश्यक निर्णय लिने गाउँपालिका अध्यक्ष चौधरीको भनाइ छ।

 

कमेन्ट लोड गर्नुस