धनगढीमा फेरिँदैछन् ‘स्मार्ट स्ट्रिट’ लाइट, वडाका बत्तीको पनि विश्लेषण हुँदै
धनगढीः धनगढी उपमहानगरपालिकाले वडा कार्यालयबाट खरिद गरिएका बिजुलीको चिमको गुणस्तर परीक्षण गर्न नमूना काठमाडौं पठाएको थियो। सडकका पोलमा लगाउने चिमको गुणस्तरमा प्रश्न उब्जिएपछि उपमहानगरले परीक्षण गर्ने निर्णय लिएको थियो। चिमको गुणस्तर परीक्षणको रिपोर्टको उपमहानगरले विश्लेषण गरिरहेको छ।
उपमहानगरले दोस्रो चरणमा ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस रोडमा जडान भएको स्मार्ट स्ट्रिट लाइटको पनि परीक्षण गराएको थियो। स्मार्ट स्ट्रिट लाइट आइएसओ प्रमाणित नभएको पाइएपछि बत्ती बदल्न उपमहानगरले निर्माण कम्पनीलाई पत्राचार गरेको छ। सडक बत्ती परीक्षणको नतिजा अध्ययन भइरहेको छ भने नयाँ स्मार्ट स्ट्रिट लाइट जडान नगर्दासम्म कम्पनीलाई भुक्तानी नदिने निर्णय भएको नगर प्रमुख गोपाल हमालले बताए।
यो वर्ष वडा कार्यालयबाट खरिद गरिएका चिममा गुणस्तरको विवाद आएपछि धनगढी उपमहानगरले बत्तीको नमूना संकलन गरेर परीक्षण गर्न काठमाडौं पठाएको हो। वडा कार्यालयबाट कोटेसनमा खरिद गरिएका चिम विरुद्ध व्यापारीबाटै उजुरी आएपछि उपमहानगरले गुणस्तर परीक्षण गर्ने निर्णय गरेको हो। चिमका विषयमा उजुरी प्राप्त भएपछि गुणस्तर परीक्षण गर्न उपमहानगरले नमुना संकलन गरेर कात्तिक १७ मा ललितपुरमा रहेको नवीकरणीय उर्जा परीक्षण केन्द्रमा गुणस्तर परीक्षणला लागि बुझाएको थियो।
चिम परीक्षणको नतिजा दुई जना इलेक्ट्रोनिक इन्जिनियरले गरिरहेको नगर प्रमुख गोपाल हमालले बताए। ‘सडक बत्ती परीक्षणको नतिजा आइसकेको छ। अहिले दुई जना सम्बन्धित विधाका इन्जिनियरहरूले नतिजा अध्ययन गरिरहनु भएको छ,’ उनले भने, ‘अध्ययन पश्चात् मापदण्ड नमिलेको पाइए वडा कार्यालयहरूलाई चिम खरिदको भुक्तानी दिइने छैन। हामीले आइएओ मापदण्डको बल्ब खरिद गर्नू भनेर सबै वडा कार्यालयलाई निर्देश यस अघि नै दिइसकेका छौँ।’
स्मार्ट स्ट्रिट लाइटको मापदण्ड पुगेन
वडाहरूमा खरिद गरिएका चिमहरूको गुणस्तर छानबिन गरिरहेको उपमहानगरले दोस्रो चरणमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटको गुणस्तर पनि परीक्षण गराएको हो। ट्राफिक चौराहादेखि भन्सार तथा क्याम्पस रोडको हुलाकी सडकमा जडान भएको स्मार्ट स्ट्रिट लाइटको मापदण्ड नमिलेको भन्दै रिजेक्ट गरेको छ। उपमहानगरले निर्माण कम्पनीलाई स्मार्ट स्ट्रिट लाइट आइएसो मापदण्ड राख्न पत्राचार गरिसकेको छ।
मापदण्ड अनुरुपको बत्ती जडान नगरे ठेक्का रद्द गरेर बाँकी भुक्तानी नदिने नगर प्रमुख हमालले बताए। ‘दोस्रो चरणमा चौराहादेखि भन्सार र क्याम्पस रोड, हुलाकी सडकमा जडान भएका स्मार्ट स्ट्रिट लाइटको मापदण्ड पुगेको छैन। हामीले लाइट बदल्न निर्माण कम्पनीलाई भनिसकेका छौँ। बत्ती परिवर्तन नगरे भुक्तानी रोकेर उपमहानगर आफैंले खरिद गरेर नयाँ लाइट जडान गर्नेछ,’ नगर प्रमुख हमालले भने।
सडक बत्ती खरिद तथा जडान मापदण्ड विपरीत गरिएको भए उपमहानगरले भुक्तानी नदिने बताएको छ। दोस्रो चरण चौराहा–भन्सार सडक र क्याम्पस रोडमा जडान गरिएका स्मार्ट स्ट्रिट लाइट फेर्न कम्पनीलाई निर्देशन गरिएको छ। कम्पनीले नयाँ स्मार्ट स्ट्रिट लाइट जडान नहरे भुक्तानी नदिने र उपमहानगरले आफैले मापदण्ड अनुसारको स्ट्रिट लाइट जडान गर्नेछ।