धनगढीमा दुईवटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले दुई लाख २२ हजार नौ सय ६० रुपैयाँको खर्चमा दुई वटा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो।
नगर प्रमुख गोपाल हमालले विदेशमा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नु पर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याएको बताए। उनले भने, धनगढी उपमहानगरपालिकालाई कल्याणकारी बनाउदै गएका छौ। नागरिकलाई टाउकोमा राखेर काम गर्दै आएका छौ। हाम्रा दाजु भाइहरू वैदेशिक रोजगारीमा रहनु भएको हुन्छ। आमा बुवाको सुखका लागि उहाँहरू विदेश जादै आउनु भएको छ। मृत्युलाई रोक्न त सकिदैन। तर, उहाँहरूले आमा बुवाको अनुसारसमेत हेर्न पाउँदैनन्। त्यही भएर हामीले चिस्यान सेवा सुरु गरेका हौ।’ धनगढी उपमहानगरपालिकाका अनुसार नगर प्रहरीले चिस्यान सेवा आवश्यक परेकाहरूको घरसम्म लैजाने छन्। उनीहरूका आफन्तको मृतक शरीर राख्न सहयोग गर्ने छन्। विद्युत्बाट सञ्चालन हुने चिस्यान सेवा उपमहानगरपालिकाको गाडीमा घरसम्म पुर्याइनेछ।
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अन्तिम दर्शनका लागि चिस्यान सेवामा शव सुरक्षीत राख्न सहयोग गरेको बताइन्। उनले शव चिस्यान सेवालाई निरन्तरता दिने बताइन। ‘नीति तथा कार्यक्रममा हामीले चिस्यान सेवा राखेका थियौ। हामीले सुरुवात गरेका छौ। विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउदासम्म मृतक शरीरको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरेका हौ।’ धनगढीको गर्मीमा मृत्युको शव जोगाउन समस्या हुने गरेको उनले बताइन्। चिस्यान सेवाले सबैलाई जीवनको अन्तिम पटक मृतकको अनुहार हेर्नमा सहयोगी हुने उनले बताइन।
धनगढी उपमहानगरपालिकाले विपन्न वर्गलाई दाउरा र किरिया खर्चका लागि समेत पाँच हजार दिने गरेको छ। परिवारका सदस्यको मृत्यु भएपछि नगर प्रहरीलाई खबर गरेपछि पाँच हजार घरसम्म पुर्याउने गरिएको छ।