सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाना पकाउने ग्यासको दोहोरो मूल्य कायम गर्न माग

२०७६ वैशाख १९, ०६:२७ खबर संवाददाता

सांसदहरुले खाना पकाउने एलपी ग्यासको दोहोरो मूल्य कायम गर्न माग गरेका छन्। प्रतिनिधिसभाअन्तर्गत्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा सांसदहरुले घरायसी र व्यापारिक प्रयोजनमा प्रयोग हुने ग्यासको मूल्य फरक–फरक गर्न माग गरेका हुन्। सत्तारुढ नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले व्यावसायिक प्रयोजनका लागि खाना पकाउने ग्यासमा भ्याटछुटको व्यवस्था रहेकाले घरायसी प्रयोगकर्तालाई सुलभ हुनेगरी व्यावसायिक र व्यक्तिगतलाई छुट्टाछुट्टै मूल्य कायम गर्न माग गरे।

उनले यसअघि नीलो र रातो रङका ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको भएपनि कमिसनका कारण सफल हुन नसकेको भन्दै अब व्यवसायीलाई दिइँदै आएको भ्याट फिर्ता बैंक अकाउन्टमार्फत् हुने व्यवस्था गर्नुपर्ने धारणा राखे। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले काठमाडौं उपत्यकामा रहेका मापदन्डविपरीतका पेट्रोलपम्प सरकारले हटाउन नसकेको भन्दै आलोचना गरे।

बैठकमा समितिका सदस्यहरुले नेपाल आयल निगमको डिपो स्थापना गर्न जग्गा खरिदमा भएको अनियमितताबारे पनि प्रश्न उठाएका थिए। सांसदहरुले २०७२ साल चैत १९ गते समितिले दिएको ग्यास उद्योग दर्ता रोक्न निर्देशन कार्यान्वयनबारे आयल निगमका पदाधिकारीसँग चासो राखेका थिए। समितिले पेट्रोलपम्प र नयाँ ग्यास उद्योग स्थापनाबारे छलफल गर्न आयल निगमका पदाधिकारीलाई बोलाएको थियो।
 

कमेन्ट लोड गर्नुस