सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा २ सय ७७ महिलाहरु यौनजन्य हिंसाको सिकार

आजदेखि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान

फाइल फोटो
फाइल फोटो
२०८० मंसिर ९, १२:५१

धनगढीः हरेक वर्ष मनाइने गरिएको लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान आज (शनिबार)देखि सुरु भएको छ।

देशभरि लैंगिक हिंसाविरुद्ध विविध कार्यक्रम गरी अभियान मनाउन लागिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अभियानमा साथ दिन सबैलाई आग्रह गरेको छ। प्रत्येक वर्ष लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सञ्चालन हुँदै आए पनि महिलामाथि हुने यौनजन्य हिंसा र घरेलु हिंसामा भने कमि आउन सकेको छैन्।

यौनजन्य हिंसा र घरेलु हिंसाबाट सुदूरपश्चिमका धेरै महिलाहरु अहिले पनि पीडित बन्न पुगेको तथ्यांकले देखाएको छ। यौनजन्य हिंसाको नाता–सम्बन्धको आधारमा प्रहरीले गरेको एक वर्षको विश्लेषणले लैंगिक हिंसासम्बन्धी भयानक चित्रण गरेको छ। महिला तथा बालबालिकाको सुरक्षामा आफन्तहरू नै चुनौती बनेकोमा प्रहरी अधिकारीले चिन्ता व्यक्त गरेका छन्।

घरेलु हिंसाका घटना पनि सुदूरपश्चिममा उच्च देखिएको छ। एक वर्षमा सुदूरपश्चिममा एक हजार दुई सय आठ महिला घरेलु हिंसाको सिकार बन्न पुगेको प्रहरीको अभिलेख छ। घरेलु हिंसाका ९९ प्रतिशत घटना प्रहरीमै मिलापत्र हुने गरेका छन्। सुदूरपश्चिममा गत आर्थिक वर्ष २०७९/८० मा मात्र दुई सय ७७ यौनजन्य हिंसाका मुद्दा प्रहरीमा दर्ता भएको पाइएको छ।

यौनजन्य हिंसामा जबरजस्ती करणी, बाल यौन दुव्र्यवहार, अप्राकृतिक मैथुनजस्ता घटना पर्दछन्। प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ। सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीनजना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो।

उक्त हत्यालाई लिंगका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ। एकै परिवारका तीनजना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो।

कमेन्ट लोड गर्नुस