सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या पाँच लाख ४२ हजार पुग्यो

२०८० मंसिर ८, ०६:३२ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या ५ लाख ४२ हजार ३७३ पुगेको छ।

गत आर्थिक वर्षमा तीन लाख ५७ हजार ६५ ले स्वास्थ्य बीमा गराएका थिए भने आर्थिक वर्ष २०७८/७९ मा ३ लाख ५० हजार ५८२ जनाले स्वास्थ्य बीमा गराएका थिए। सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको संख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्रप्रसाद कुश्वाहले बताए। सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या क्रमशः बढिरहेको छ।

‘गत आर्थिक वर्षभन्दा यो वर्ष स्वास्थ्य बीमामा आवद्ध हुनेको संख्या एक लाख ८५ हजारले बढेको छ’, कुश्वाहले भने। स्वास्थ्य बीमा गराउनेको संख्या सबैभन्दा बढी कैलालीमा २ लाख ८० हजार ९५७ पुगेको छ भने कञ्चनापुरमा ५९ हजार ५२ र अछाममा ५५ हजार ४८३ ले स्वास्थ्य बीमा गराएका छन्। यसैगरी, बझाङमा ३९ हजार ९७३,  बाजुरामा ३४ हजार ५८९, बैतडीमा २३ हजार ८५८, डडेल्धुरामा १९ हजार ९१०, डोटीमा १६ हजार ३५५, र दार्चुलामा १२ हजार १९६ जनाले स्वास्थ्य बीमा गराएका छन्।

पुराना बिमित मध्ये करिब ८५ प्रतिशत भन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेको कुश्वाहले बताए। स्वास्थ्य बीमा गराए बिरामी हुँदा सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने गर्छ। स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक ३ हजर ५ सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्छ।

बिमित परिवारका सदस्य बिरामी हुँदा एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई भुक्तानी गर्छ। सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको कुश्वाहले बताए। ‘अहिले स्वास्थ्य बीमा गर्न सरसाधारणमा रुचि बढेको छ। अस्पतालहरूमा उपचार पाउन सहज हुन थालेकाले बिमा गराउनेको संख्या बढ्न थालेको छ’, कुश्वाहले भने।

स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघीय अस्पतालमा उपचार सेवा केन्द्र तोकिएको हुन्छ। बिमितहरूको पहिलो सेवा केद्रमा उपचार हुन नसके प्रादेशिक र संघीय अस्पतालबाट उपचार सेवा लिन पाउँछन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस