कृष्णपुरमा किसानलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण
कञ्चनपुरः कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाले किसानलाई च्याउको बीउ वितरण गरेको छ। शुक्रवार किसानलाई नगरपालिकाको कृषि विकास शाखाले कन्ये च्याउको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको हो। नगरपालिकाले एक हप्ता अगाडी च्याउ खेती गर्न चाहाने किसानका लागि भन्दै सूचना नै जारी गरेको थियो।
च्याउको बीउ लिनको लागि नगरपालिकामा पुगेका किसानलाई आज (शुक्रवार) वितरण गरेको नगरपालिकाले जनाएको छ। नौ वटै वडाबाट आएका किसानहरुलाई नगर उपप्रमुख द्रोपती रानाले कन्ये च्याउको बीउ हस्तान्तरण गरेकी हुन्। नगरपालिकाले व्यक्तीगत रुपमा खेती गर्ने किसानलाई ४ पोका बीउ र सहकारी अथवा समूहमा खेती गर्ने किसानलाई ६० पोका च्याउको बिउ वितरण गरेको हो।
कृषि शाखाले च्याउको बीउसँगै किसानलाई खेती गर्न सजिलो होस् भन्नका लागि प्लाष्टिक पनि वितरण गरकोे नगरपालिकाका कृषि शाखा प्रमुख लाल बहादुर धामीले बताए। धामीका अनुसार च्याउको बिउ वितरण गर्ने कार्य अर्को हप्तासम्म रहने छ।