सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा एचआईभी संक्रमितको संख्या फैलिँदै

२०८० मंसिर ८, ०१:२५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र एचआईभी संक्रमितको संख्या फैलिँदै गएको छ। यस्ता संक्रमितको संख्या सबैभन्दा बढी कैलालीमा रहेको पाइएको हो। एचआइभी संक्रमितकै कारण सुदूरपश्चिमका ९ जिल्लामा गरी तीन वर्षको अवधिमा दुई सय २६ जनाको मृत्यु भइसकेको छ।  

नियमित उपचारमा रहेका र औषधि सेवन गरिरहेका ७२ महिला र १ सय ५४ पुरुषको मृत्यु भएको हो। आर्थिक वर्ष २०७९/८० मा उपचारमा रहेका ६४ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७८/७९ मा मृत्यु हुनेको संख्या ७९ रहेको थियो भने आर्थिक वर्ष २०७७/७८ मा उपचारमा रहेका ८३ जना एचआईभी संक्रमितको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार २०७९/८० मा सबैभन्दा बढी कैलालीमा मृत्यु भएको तथ्यांक छ। सेती प्रादेशिक अस्पतालमा नियमित औषधोपचारमा रहेका १८, मालाखेती अस्पतालमा ६ र टीकापुर अस्पतालमा ८ गरी ३२ जनाको मृत्यु भएको छ। तीमध्ये ११ महिला, २० पुरुष र एक यौनिक तथा लैंगिक अल्पसंख्यकको मृत्यु भएको छ। २०७८/७९ मा मालाखेती अस्पतालमा उपचाररत संक्रमितको मृत्यु संख्या शून्य थियो।

तर, सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा भने सो वर्ष मृतक संख्या गत आर्थिक वर्षको भन्दा बढी थियो। सेतीमा २६ र टीकापुर अस्पतालमा १२ जना संक्रमितको मृत्यु भएको थियो। गत आर्थिक वर्षमा डोटीमा १३ जना संक्रमितको मृत्यु भएको छ। बझाङमा चार, बाजुरामा दुई, बैतडीमा तीन, दार्चुला, डडेलधुरा, कञ्चनपुरको महाकाली अस्पतालमा एक/एक जना संक्रमितको मृत्यु भएको छ।

कैलालीपछि बढी संख्यामा प्रभावित देखिएको डोटीमा अघिल्लो आर्थिक वर्षभन्दा २०७९/८० मा मृतकको संख्या बढेको छ। २०७८/७९ मा ८ जना संक्रमितको मृत्यु भएको थियो। निर्देशनालयका जनस्वास्थ्य अधिकृत मनोज ओझाका अनुसार गत आर्थिक वर्षमा प्रदेशका सरकारी स्वास्थ्य संस्थाबाट ७ हजार १ सय ३ जनामा परीक्षण गर्दा १ सय ७३ संक्रमित फेला परेका थिए भने विभिन्न संघसंस्थाले गरेका परीक्षणबाट ८१ नयाँ संक्रमित फेला परेका थिए।

बाजुरामा भदौ महिनामा मात्रै चार जना नयाँ संक्रमितको पहिचान भएको छ। हाल सुदूरपश्चिमका एआरटी केन्द्रमा औषधि सेवन गर्नेको संख्या ३ हजार ६ सय २६ रहेको छ। निर्देशनालयका अनुसार सबैभन्दा बढी औषधि सेवनकर्ता कैलालीमा छन्। सेती प्रादेशिक अस्पतालमा १ हजार १९, मालाखेती अस्पतालमा ३ सय ३७, टीकापुर अस्पतालमा ५ सय ६३, अछाममा १ सय ९१, बयालपाटामा २ सय ४, चौरमाडौंमा १ सय ३ र कमलबजारमा ९४ जना एआरटी सेवनकर्ता रहेको तथ्यांकमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस