सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट पक्राउ परेका 'ह्याकर' गिरोहका नाइकेको घरबाट ठुलो रकम बरामद

नौ जना प्रहरी नियन्त्रणमा

२०८० मंसिर ७, ०८:४६ खबर संवाददाता

धनगढीः कैलालीस्थित धनगढीमा कार्यालयनै सञ्चालन गरेको ह्याकरका प्रमुखको घरबाट ठुलो रकम बरामद गरिएको छ। यस ठगी धन्दाका मुख्य नाइके  रहेका कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ का विशाल सुनारको घरमा प्रहरीले छापा हानेकोमा ४६ लाख ९१ हजार ६८० रुपैयाँ बरामद गरिएको छ।

धनगढीबाट बैँकका खाता ‘ह्याक’ गर्ने ९ जना गिरोहको समूहलाई प्रहरीले बुधवार पक्राउ गरेको थियो। नेपाल राष्ट्र बैँक, धनगढी नजिक कार्यालयनै स्थापना गरेर उनीहरूले बैँकका खाताहरू ह्याक गर्ने र विभिन्न ठगीका कामहरू गर्दै आएका प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।

पक्राउ पर्नेमा मुख्य नाइके कञ्चनपुरको बेलडाडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, डोटी सिखर नगरपालिका–१० का २१ वर्षीय प्रसान्त बलायर, भारतको दिल्ली पालङ्गाका ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्लीका २४ वर्षीय निखिल कुमार, भारतकै दिल्लीका १९ वर्षीय प्रियंसु टापु रहेका छन्। 

यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का २९ वर्षीय  मिनबहादुर सुनार, २८ वर्षीय कमल सुनार र २२ वर्षीय जयराम सुनार रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए। कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरमा शिवदत्त पाण्डेयको घरमा मुख्य नाइके कञ्चनपुरको बेल्डाडी गाउँपालिका–२ को विशाल सुनारले अवैध रुपमा आई.टी सेक्टरबाट ठक धन्दा सञ्चालन गरिरहेको डीएसपी चन्दले जनाकारी दिए।

बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी अन्तर्गत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी)का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट पहरी नायक निरिक्षक प्रकाश कडायत तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डसहितको संयुक्त टोलीले सो गिरोहलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप र मोबाइल समेत बरामद गरिएको छ। लेनोभो कम्पनीको ल्यापटप ९ थान, डेल कम्पनीको ल्यापटप २ थान, विभिन्न कम्पनीका मोबाइल ८ थान, हेडफोन १२ थान, किबोर्ड १ थान र वर्डलिङ्क कम्पनीको वाईफाई र राउटर १ थान बरामद गरिएको डीएसपी चन्दले बताए।

नियन्त्रणमा लिएका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भईरहेका चन्दले बताए। उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मोनी लाउण्डरिङ्, बिमा दुर्घट्ना लगायत विषयमा प्रलोभनमा पारी पोल्याण्ड लगायतका नागरीकलाई अनलाईनमार्त ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस