सुदूर नेपाललाई विश्वसँग जोड्दै

मझगाउँ विमानस्थलको धावनमार्ग निर्माण गर्न जग्गा अभाव

२०८० मंसिर ६, १०:४९ कमल सावद

धनगढीः कञ्चनपुरको मझगाउँमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नाममा ५६ बिघा जग्गा छ। मझगाउँ विमानस्थल निर्माणका लागि ९६ बिघा जमिन आवश्यक पर्छ। प्राधिकरणलाई ४० बिघा थप जमिन आवश्यक छ। तर, जमिनको भोगाधिकार प्राधिकरणले पाएको छैन। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर मीनराज ओझाका अनुसार नेपाली सेनाको नाममा रहेको सात बिघासहित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बफरजोन क्षेत्रको जमिन प्राधिकरणलाई आवश्यक रहेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र रत्न बाटिकाको प्रति जमिन प्राधिकरणलाई हस्तान्तरणको प्रक्रिया जारी हरेको छ। वातावरणीय प्रभाव मुल्याँकनको काम गरेर सङ्घीय मन्त्रीपरिषद्मा फाइल पठाउने तयारी थालिएको हो। उनले भने, ‘हाम्रो ५६ बिघा जमिन छ। ४० बिघा जमिन आउने हो। नागरिक उड्डयन प्राधिकरणको नाममा ५६ बिघा जमिन छ। बफरजोन भित्रको जमिन हामीलाई आवश्यक छ। रत्न बाटीकाको प्रति जग्गा हो। मध्यवर्ती क्षेत्रमा पर्ने जमिन चाहिएको हो।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले ४० बिघा जग्गाको भोगाधिकार नपाएकाले धावनमार्ग निर्माणमा समस्या भएको छ। प्राधिकरणले एक हजार पाँच सय २५ मिटरको धावनमार्ग निर्माणका लागि सम्झौता गरेको छ। तर, रुखका कारण नौ सय ५० मिटरमा मात्र काम हुँदैछ। नेपाल नागरिक उड्डयन प्राधिकरण, निर्माण कम्पनी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नेपाली सेना र रत्न बाटिकाको बिचमा रुख नभएको क्षेत्रमा काम गर्ने सहमति भएको छ। बाँकी क्षेत्रमा रुख रहेकाले नौ सय ५० मिटर मात्र धावनमार्गको बेस निर्माणको काम जारी रहेको छ। इन्जिनियर ओझाले भने, ‘जमिनका कारण काम रोकिएको छैन। तर, सबै ठाउँमा काम गर्न पनि पाएका छैनौ। रुख नभएको ठाउँमा काम गर्ने सहमति भएको छ। सोही अनुसार हामीले काम गर्दैछौ। पहिलो चरणमा धावनमार्गको काम हुँदैछ।’ मझगाउँ विमानस्थलको धावनमार्ग निर्माणका लागि प्राधिकरणले जमिन नपाएको हो।

माओवादी सशस्त्र द्वन्द्वको समय बन्द भएको विमानस्थल सञ्चालनका लागि २०७८ पुस २८ गतेबाट काम सुरु गरिएको थियो। तर, ४० बिघा जग्गाको भोगाधिकार नपाएकाले धावनमार्ग निर्माणको काममा समस्या भएको छ। ‘भौतिक निर्माणको काम २५ प्रतिशत पूरा भएको छ। तिहारपछि काम सुरु भएको छ। अहिले सब बेस निर्माणको काम गर्दैछौ। तर, धावनमार्गको सबै काम गर्न पाएका छैनौ। रुख रहेको क्षेत्रमा काम गर्न पाएका छैनौ,’ उनले भने। जग्गाको भोगाधिकारका लागि सङ्घीय मन्त्रीपरिषद्को निर्णय आवश्यक पर्ने भएको हो। 

२२ वर्षदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले केएस कान्छाराम कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेर काम हुँदैछ। विमानस्थलमा अन्य भौतिक संरचनाहरु निर्माणको काम जारी भए पनि जग्गा विमानस्थलको मातहतमा आउन बाँकी छ। 

विमानस्थलका भौतिक संरचना र धावनमार्ग बनाउन प्राधिकरणले दुई करोड ५१ लाख बजेट विनियोजन गरेको थियो। यस्तै, विमानस्थल निर्माणमा पर्यटन मन्त्रालयको ५०, प्रदेश सरकारको २५, भीमदत्त नगरपालिकाको १५ र दोधारा–चाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७१५ रकम रहने सहमति भएको थियो। मझगाउँ विमानस्थल २०२४÷२५ सालतिर बनिसकेको थियो। तर द्वन्द्वका कारण बन्द रहेको विमानस्थल निर्माण थालिएको हो। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस