सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘किसान बाहेक अन्यलाई हाटबजारमा व्यापार गर्न दिन्नौँ’

२०८० मंसिर ५, ०६:२९ नारायण अवस्थी

धनगढीः धनगढीको त्रिनगर कृषि हाटबजारमा दुई जना भारतीय नागरिकले मङ्गलवार हङ्गामा गरेको दृश्य देखियो। उपमहानगरले परिचयपत्र लिएका किसानहरूलाई मात्रै हाट बजारमा तरकारी बिक्री गर्न दिने नीति लिएको भए पनि दुई जना भारतीय नागरिकसँग भने किसान परिचयपत्र थिएन।

नियम विपरीत हाट बजारमा बस्न नमिल्ने नगर प्रहरीले बताएपछि आक्रोशित भएर दुबै जनाले आफ्नो तरकारी आफै फालेर छरपस्ट पारेका थिए। आवेगमा आएर आफ्नो तरकारी आफैले फालेको घटनामा संलग्न साहिल खान र साहरुख खानका काका ख्यारत अहमदले स्पष्ट पारेका छन्। ‘आज बिहान हाटबजारमा जुन घटना भयो त्यसमा नगर प्रहरीको हात छैन। भतिजाहरूले आवेगमा आएर आफ्नो तरकारी आफैँ फालेका हुन,’ अहमदले स्पष्ट पारे।

गत बैशाखसम्म धनगढीको त्रिनगर कृषि हाट बजारमा कपडा, जुत्ता चप्पल, भाडा वर्तन र धनगढी भन्दा बाहिर उब्जाएको तरकारी होलसेलमा बिक्री हुन्थ्यो। धनगढीका किसानहरूले त्रिनगर हाट बजारमा आफ्ना कृषि उपज बिक्री गर्न नपाउने अवस्था थियो। किसानहरूले हाट बजारमा आफ्नो उत्पादन बिक्री गर्न नपाएको गुनासो गरेपछि धनगढी उपमहानगरले किसान परिचयपत्र वितरण गर्ने नीति लिएको हो। उपमहानगरले किसान परिचयपत्र लागु गरेर हाट बजारमा किसान बाहेक अन्य व्यापारीको प्रवेशमा रोक लगाएको थियो।

बिगतमा बजार व्यवस्थापन समितिका नाममा किसानबाट सस्तोमा तरकारी खरिद गर्ने र उपभोक्तालाई दोब्बर मूल्यमा बिक्री गर्ने काम हुँदै आएको थियो। त्यो परिपाटी तोड्न र किसानले श्रमको मूल्य पाउन भनेर हाटबजारमा व्यापार गर्न गैरकृषकहरूको प्रवेशमा रोक लगाइएको नगर प्रमुख गोपाल हमालले बताए। ’विगतमा बजार व्यवस्थापन समितिका नाममा किसानबाट सस्तोमा खरिद गर्ने र उपभोक्तासँग दोब्बर मूल्य लिने परिपाटी थियो। ‘किसानहरूले बिहान हाटबजारमा आएर सस्तोमा बिक्री गरेर जानुपर्थ्यो,’ उनले भने, ‘मेहनत गर्ने लगानी गर्ने किसानले आफ्नो उत्पादनको उचित मूल्य पाओस् र उपभोक्ताले पनि सस्तोमा खरिद गर्न सकून् भने किसान बाहेक अन्यको प्रवेशमा रोक लगाएका हौँ।’

विगतमा किसानबाट बिहान सस्तोमा खरिद गरेको तरकारी व्यापारीहरूले केही घण्टापछि उपभोक्तासँग दोब्बर मूल्यमा बिक्री गर्दै आएका थिए। व्यापारीहरूले सेटिङ गरेर किसानलाई आफूले तय गरेको मूल्यमा तरकारी बिक्री गर्न बाध्य पार्थे। हाट बजारमा बिहान सस्तोमा खरिद गरेको तरकारी व्यापारीहरूले भने दोब्बरमा बिक्री गर्ने उर्दी जारी गर्थे।

किसानले हाट बजारमा बस्न नपाउने, उत्पादन गरेको तरकारी आधा मूल्यमा बिक्री गर्नुपर्ने अवस्था हटाउन, मेहनत गर्नेले मूल्य पाउन र उपभोक्ताले पनि उचित मूल्यमा किसानबाट सोझै तरकारी खरिद गर्न सकुन भनेर किसान परिचय पत्रको अवधारणा ल्याइएको नगर प्रमुख हमालको भनाइ छ। उनले कृषि हाटबजारमा कुनै पनि हालतमा गैरकिसानहरूलाई प्रवेश नदिने स्पष्ट पारेका छन्। ‘हाट बजारको निर्माण भएको किसानहरूका लागि हो। किसान परिचयपत्र नभएका व्यक्तिलाई आन्दोलन गरे पनि, टाउको फोडे पनि हामी हाटबजारमा व्यापार गर्न दिन्नौँ,’ उनले भने, ‘हाटबजारमा आफ्ना उत्पादन बिक्री गर्ने हक किसानहरूको हो। गैरकिसानहरूलाई कुनै पनि हालतमा हाटबजारमा पश्न नदिन नगर प्रहरीलाई स्पष्ट निर्देशन दिएका छौँ।’

नगर प्रमुख हमालले हाट बजार किसानहरूको भएकाले उनीहरूले मात्रै आफ्नो कृषि उत्पादन सोझै उपभोक्तासँग बिक्री गर्न पाउने बताएका छन्। स्थानीयले उत्पादन गरेको तरकारी, फलफूल, च्याउ, अचार, टपरी र अन्य घरेलु उत्पादन बिक्री गर्न पाउने तर, किसान बाहेक अरूलाई हाट बजारमा बसेर व्यापार गर्न नदिने नगर प्रमुख हमालले स्पष्ट पारेका छन्।

किसानहरूले कम मूल्यमा बिचौलियासँग तरकारी बिक्री गर्नुपर्ने गुनासो गरेपछि उपमहानगरले कृषि हाटबजारमा बिचौलियाको अन्त गर्न धनगढीका किसानहरूलाई परिचयपत्र वितरण गरेको हो। किसान परिचयपत्र लागु भएपछि धनगढीका किसानहरूले हाटबजारबाट आफ्नो उत्पादन उपभोक्तालाई बिक्री गर्न सहज भएको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस